कृषि
गैँडाकोट नगरपालिकाले बाँझो जमिन खोजेर आफैँ लगानी आफ्नै उत्पादन गर्ने

चितवन, जेठ ४-
गैँडाकोट नगरपालिकाले बाँझो जमिन खोजेर आफैँ खेती गर्ने भएको छ । नगरपालिकाका वडा कार्यालयमार्फत बाँझो जग्गाको खोजी गरी आफ्नै लगानी आफ्नै उत्पादन अभियान शुरु गर्न लागिएको हो ।
नगरपालिकाका प्रमुख छत्रराज पौडेलका अनुसार कार्यपालिकाको बैठकबाट निर्णय गरी काम अघि बढाइएको छ । वडा कार्यालयले पाँच कठ्ठाभन्दा बढी बाँझो छोडिएको जमिनको तथ्याङ्क सङ्कलन गर्न शुरु गरेका छन् । यसलगत्तै नगरपालिकाले आफ्नै लगानीमा स्थानीय मजदुरलाई रोजगारी दिएर खेती गर्न शुरु गर्ने छ । उत्पादित वस्तुहरु प्रचलित बजार मूल्यमा बिक्री गर्ने गरी व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा ४० बिघा जमिन हाराहारीमा खेती गर्ने तयारी गरिएको छ । सोपश्चात यसको प्रभावकारितालाई हेरेर थप जग्गाको खोजी गरिने छ । पूर्णरूपमा बाँझो जग्गामा खेती गर्दा चार हजार हाराहारीले रोजगारी पाउने पौडेलको भनाइ छ । सम्बन्धित जग्गाधनीले खेती नगरी बाँझो राखेमा सो जग्गामा नगरपालिकाले खेती गर्ने भएको हो । जग्गाको पहिचान गरी नगरपालिकाले सिँचाइ नभएका ठाउँमा सिँचाइको व्यवस्थापन गरी खेती गर्ने छ ।
नगरपालिकाले कृषि फार्म, पशुपालनजस्ता कार्यमा अनुदान दिँदै आएको छ । नेपालकै नमूना नगर बनाउन बाँझो जमिन राखेर सम्भव नहुने पौडेलले बताउनुभयो । उहाँका अनुसार देशभरमै सबैभन्दा बढी दूध उत्पादन हुने नगर गैँडाकोट हो । गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन् । हाल नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ । लकडाउनका कारण देशमै खाद्य सङ्कट निम्तन सक्ने भन्दै समयमै सावधानी अपनाउन लागिएको हो ।
कर्मचारीको कोरोना बीमा
गैँडाकोट नगरपालिकाले स्वास्थ्य, सरसफाइ कर्मचारी र सवारी चालकको कोरोना बीमा गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यका अनुसार ६० जना कर्मचारीको बीमा गर्ने प्रक्रिया अघि बढेको छ ।
प्रतिव्यक्ति रु ६०० तिरेर बीमा गरेपछि कोरोना पोजेटिभ देखिएमा सम्बन्धित कर्मचारीले बीमा कम्पनीबाट रु एक लाख प्राप्त गर्नेछन् । नगरप्रमुख पौडेलले जोखिममा काम गरेका कर्मचारीलाई सङ्क्रमण भइ हालेमा केही राहत प्राप्त होस् भन्ने उद्देश्यले बीमा गर्न लागिएको बताउनुभयो । सङ्क्रमण नगर क्षेत्रमा छिर्न नपाओस् भन्नका लागि सबैलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । रासस