चितवन विशेष

मकैमा अमेरिकी फौजी कीराको प्रकोप

Banner

नारायण अधिकारी

चितवन, जेठ ३–

चितवनमा अमेरिकन फौजी किराले मकैबाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लाको विभिन्न स्थानमा सयौँ बिगहामा लगाएको मकैबाली फौजी किराले नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थान हेरिकन २० देखि ३० प्रतिशतसम्म क्षति पु¥याएको पाइएको छ । मकैको पातमा पुतलीले फुल पारेपछि फुलबाट निस्किएको लार्भाले शुरुमा पातको हरियो भाग खाएर सेतो धर्सा देखिने कृषक बताउँछन् । सोही लार्भाले गुभोमा पुगेर बढी रहेको गुभो र पातको हरियो भाग पूरै खाएर नष्ट गर्ने गरेको छ ।

मकैमा लाग्ने अमेरिकन फौजी किरा ९फल अर्मीवार्म० अमेरिकाबाट नेपालमा भित्रिएको हो । अमेरिकाबाट अफ्रिका पुग्यो । त्यहाँबाट बङ्गलादेशसम्म पुग्यो । भारतमा १९१८ मा भित्रियो । २०७६ जेठ महिनामा नवलपरासीको गैंडाकोटका किसानले लगाएको मकैबालीमा पहिलोपटक यो फौजी किरा देखिएको हो । त्यसपछि यसकोे प्रकोप मुलुकभरि फैलिन सक्ने चेतावनी कृषि अधिकारीहरूले दिएका छन् । यो किरालाई कतिपयले अमेरिकन मिचाहा फौजी किरा पनि भन्ने गर्दछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार यो नयाँ किरा भएकाले यसको अनुसन्धान राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरमा भइरहेको छ । जिल्लामा करिब सात हजार हेक्टरमा मकै लगाइएको छ ।

अधिकांश ठाउँमा यसको प्रकोप देखिएको भन्दै उहाँले २० देखि ३० प्रतिशतसम्म नोक्सान गरेको बताउनुभयो । अन्य किराले सामान्य हिसाबले एक वर्षमा दुईदेखि तीन पुस्ता तयार हुने गर्दछ । तिमल्सिनाका अनुसार यो किरा नयाँ भएकाले विभिन्न प्रजाति र जीवनचक्रका बारेमा थाहा भइसकेको छैन । किराको वायोलोजिकल व्यवस्थापन र जैविक विधिबाट नियन्त्रण गर्न केही कामहरु शुरु गरिएको छ ।

मकैबालीमा फौजी किरा देखिन थालेपछि किसान मारमा पर्दै आएका छन् । “खासगरी हावापानी र बीउबाट सरेर नेपाल भित्रिएको हो । विदेशबाट खरिद गरिएको बीउबाट आउन सक्छ । मानिसको शरीरमा पनि जीवाणु टाँसिएर भित्रिएको हुन सक्छ”, वरिष्ठ कृषि अधिकृत तिमल्सिनाले भन्नुभयो, “छिमेकी मुलुकबाट भित्रिने सम्भावना बढी हुन्छ ।” पछिल्लो समय आयात गरिएका हाइब्रिड प्रजातिका बीउ बढी प्रयोग हुन थालेपछि नयाँनयाँ रोग भित्रिन थालेको कृषिविज्ञको भनाइ छ ।

नेपालको तराई क्षेत्रमा विगतका वर्षमा फाट्टफुट्ट मात्र हिउँदे मकै र अधिकांश ठाउँमा वर्षे मकै मात्र लगाउने गरिन्थ्यो । पछिल्ला वर्षहरुमा हरियो घोगाको बिक्री बढेको र पशु तथा कुखुराको दाना प्रयोजनका लागि ठूलो परिणाममा मकै आवश्यक पर्ने भएपछि हाइब्रिड जातका मकै सबै समयमा लगाउने गरेको पाइन्छ । यसले गर्दा किराको प्रकोप तराई र पहाडमा निकै बढिरहेको उहाँले बताउनुभयो । यसको नियन्त्रण गर्नका लागि अपनाइएको विधिका बारेमा उहाँले भन्नुभयो, “प्राङ्गारिक किसिमबाट खेती गरिएको हो भने बजारमा उपलब्ध प्राङ्गारिक विषादी पाँच मिलीलिटर एक लिटर पानीमा मिसाएर गुभोमा छरेमा नियन्त्रण हुन्छ ।”

आवश्यकतानुसार एकपटक दोहो¥याउनुपर्ने भन्दै उहाँले यो विधिका लागि खेतबारीमा कुन बोटमा किरा छ, त्यसको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो । व्यावसायिक मकैखेती गरेको ठाउँमा प्राङ्गारिक विधि अपनाउन खर्चिलो हुने भन्दै उहाँले यसका लागि सिफारिस गरिएका रासायनिक विषादीमध्ये कुनै दुईवटा आलोपालो गरी राम्रोसँग छरियो भने ठूलो नोक्सानी हुनबाट बच्ने छ ।

फौजी किरा नियन्त्रणका लागि इमिडा क्लोप्रिट नामक विषादी छर्नुपर्ने सुझाव कृषि विज्ञहरुको छ । तर, यो दीर्घकालीन उपाय भने होइन । यसका लागि बीउको प्रयोगदेखि किसानमा सचेतना र कृषि वैज्ञानिकहरूको अनुसन्धान आवश्यक पर्छ । हजारौंको सङ्ख्यामा बस्ने उक्त किराले एकसाथ एक स्थानबाट आर्मी शैलीमा चारैतिर फैलिंँदै बालीेको कलिलो भाग काटेर त्यसभित्रको रस चुस्छ । दिउँसो बालीको जरामा लुकेर बस्ने र रातिको समयमा मात्रै यसले आक्रमण गर्छ । दिउँसो किरा नदेखिने तर बाली काटेर भुइँमा झर्दा पशुचौपायाले चरेको जस्तो देखिन्छ । त्यसैले किसानहरू फौजी किराको प्रकोपबारे ढिलो गरी थाहा पाउँछन् ।

अहिले यहाँको मकैबालीमा गवारोको प्रकोप पनि देखिएको छ । यसले गुभो र घोगामा नोक्सानी पु¥याउने गर्दछ । यो नगन्य मात्रामा रहेको छ । फौजी र गवारोको प्रकोप रोक्न सरोकारवाला निकायले आवश्यक सहयोग गर्दै आएका छन् । स्थानीय तहका कृषि विकास शाखा र कृषि ज्ञान केन्द्रसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राविधिक सरसल्लाह र आवश्यक विषादीसमेत सहयोग पु¥याइएको तिमल्सिनाले जानकारी दिनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>