स्वास्थ्य
कोरोना परीक्षण गर्न स्वास्थ्य सामग्री पर्याप्तः प्रवक्ता देवकोटा

कालिका खड्का
काठमाडौं, वैशाख ३१–
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ ।
मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायर बढाइएको र परीक्षण गर्ने स्वास्थ्य सामग्री पयाप्त मात्रामा रहेको जानकारी दिनुभएको हो । “कुनै व्यक्तिलाई कोरोना भाइरसको लक्षण देखिएमा वा शङ्का लागेको तुरुन्त परीक्षणका लागि सम्पर्क गर्नुहोला”, उहाँले भन्नुभयो, “थप सजकता साथ निडर र सजक भएर काम गरौँ ।”
नेपालमा कोरोना भाइरस सङ्क्रमित २१९ जना पुगेका छन् । तीमध्ये पुरुष १७६ महिला ४३ जना रहेका छन् । आज बुटवलबाट २५ वर्षीय पुरुष र चितवनका ६३ वर्षको महिला घर फर्किएपछि ठीक भएर घर फर्किनेको सङ्ख्या ३५ जना रहेको छ । हालसम्म रेडजोनमा ३४२ रहेका छन् । स्वास्थ्यकर्मी र पत्रकारमा पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
सरकारले कोरोना भाइरस रोकथाम परीक्षण प्रणालीलाई विस्तार गरेको छ । हालसम्म पिसिआर परीक्षण २१ हजार ३४० र आरडिटी ६० हजार ३१९ व्यक्तिमा गर्न सफल भएको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर दुई हजार ३५७ र आरडिटी ६९२ को परीक्षण सम्पन्न गरेको छ । हाल १२ हजार ७०१ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा २४५ छन् भने ३५४ जना रेड जोनमा छन् । कोरोनाको सम्भावित जोखिममा १५८ छन् । आजै बाँकेमा ३६ वर्षे पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । –रासस