Breaking News
सप्तरीका कोरोना संक्रमित युवाको सम्पर्कमा चितवनका २२ जना, बुधबार ८ जनाको कोरोना परीक्षण गरिने

चितवन, वैशाख ३०–
सप्तरीमा एक युवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ चितवनमा गरिएको छ । चितवनबाट सप्तरी आइपुगेको भनेर युवाले बयान दिएपछि चितवनमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको हो ।
आज (मंगलबार) खैरहनी नगरपालिकाको स्वास्थ्य सेवा विभागले खैरहनी नगरपालिका–१३ स्थित गवै र हर्नरीमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेको हो । सो क्रममा संक्रमित युवासंग २२ जना सम्पर्कमा रहेको पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । जसमा १२ जना महिला र १० जना पुरुष रहेका छन् । ती मध्ये संक्रमित युवासंग बारम्बार सम्पर्कमा आउनेमा ८ जना रहेको अधिकारीले बताए । उनले पहिलो चरणमा ती आठ जनाकै भोलि (बुधबार) भरतपुरमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए ।
वैशाख ८ गते ती संक्रमित युवा चितवनबाट सप्तरी गएको अधिकारीले बताए । ती युवा गवैमा दैनिक ज्यालादारी मजदुरी गर्दै आइरहेका थिए । उनी १३ जनाको समूहमा घर गएका थिए ।