स्वास्थ्य
बर्दियामा कोरोना परीक्षण गर्ने किट अभाव

राजापुर, वैशाख २९–
बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भिटिएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताउनुभयो ।
स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सूचना अधिकारी चौधरीले आरडिटी विधिबाट परीक्षण गरिएका दुई हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७ गरी कुल तीन हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिनुभयो ।
मधुवन नगरपालिकाको क्वारेन्टाइनमा ३२८, गुलरिया नगरपालिकामा २११, बाँसगढीमा १९, बारबर्दिया सामुदायिक क्वारेन्टाइनमा २१६, ठाकुरबाबामा १६, राजापुरमा ८९, गेरुवा गाउँपालिकामा ५८ र बढैयातालमा सात जनालाई राखिएको छ । जिल्लाका क्वारेन्टाइनमा ९४२ जना छन् भने बर्दिया अस्पतालको आइसोलेशनमा दुई बिरामी भर्ना भएका छन् । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नआएको सूचना अधिकारी चौधरीले बताउनुभयो । –रासस