Breaking News
कपिलवस्तुका नयाँ संक्रमित लकडाउनका बेला भारतबाट आएका थिए

काठमाडौं, बैशाख २९-
कपिलबस्तुमा सोमबार पुष्टि भएका १० नयाँ संक्रमित सबै भारतबाट आएको खुलेको छ । उनीहरु सबैलाई भारतबाट आएर क्वारेन्टिनमा राखिएको र क्वारेन्टिनबाटै स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउँदा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका ७ र १० का १८ देखि ३४ वर्षसम्मका ९ जना र एक उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो ।
शनिबार गाउँपालिकाको बेदौली र पशुपति शिक्षा मन्दिरको क्वारेन्टिनमा रहेका ६२ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये ८ जनालाई कोरोना पुष्टि भएको हो ।
अधिकांश भारतको मुम्बईबाट आएका उनीहरु गाउँपालिका विभिन्न मितिमा पुगेका थिए । संक्रमितबारे थप विवरण संकलन भइरहेको र आजै उनीहरुलाई बुटवलस्थित अस्थायी कोरोना अस्पतालमा लैजाने तयारी भैरहेको जानकारी छ ।
यस्तै बुद्धभूमि नगरपालिकामा देखिएका दुई संक्रमितहरु प्रारम्भिक रुपमा भारतबाट आएको खुले पनि विस्तृत विवरण संकलन भइरहेको छ ।