Breaking News

प्रचण्डले भने – सीमा विवाद कूटनीतिक रुपमा समाधान नभए नेपालले फरक बाटो रोज्नुपर्छ

Banner

काठमाडौं, बैशाख २८-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताएका छन् ।

प्रचण्डले भारतसँगको सीमा विवाद उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नु पर्ने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले दिने वक्तव्य अर्थात चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठीक भएको तर एक्सनमा पनि ठीक तरिकाले जानुपर्नेमा सहमति जनाएका हुन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गरेको बारेमा छलफल गर्न आह्वान गरिएको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले भारतसँगको सीमा समस्या उच्च राजनीतिक र कूटनीतिक तहबाट समाधान हुनुपर्ने बताए ।

‘भारतसँगको सीमा विवाद उच्च राजनीतिक र कूटनीकि तहबाट समस्या समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ,’ प्रचण्डले बैठकमा भने ।

लिपुलेकमा अहिले देखिएको समस्यापछि यो विवाद त्रिदेशीय बन्न पुगेको उनको भनाइ छ ।

भारतले नेपाली भूमि लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिएको उनले बताए ।

‘लिपुलेकमा अहिलेको समस्यापछि यो त्रिदेशीय बन्न गएको छ । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले यो त्रिदेशीय बन्न पुगेको हो,’ प्रचण्डले भने,’यो समस्या समाधान तीनवटै देशको समझदारीमा हुनुपर्छ ।’

नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राखेको र सडक निर्माण गरेपछि सीमा विवादले नयाँ स्वरुप लिएको प्रचण्डको भनाइ थियो ।

उनले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताए ।

त्यसअघि समितिको बैठकमा सांसदहरुले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग गरेका थिए ।

त्यसको जवाफमा प्रचण्डले भने .’अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोच्नु पर्छ ।’

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको र भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूले विवाद गम्भिर मोडमा गएकोले राजनीतिक र कूटनीतिक तहमा पहल थाल्न सुझाव दिएको उनले बैठकमा सुनाए ।

समितिका अन्य सदस्यहरुले सरकारले पत्र चाहिँ ठीक पठाउने र तर त्यसलाई व्यवहारमा उतार्न नसक्ने अवस्था रहँदै आएको बताएपछि अध्यक्ष प्रचण्डले उक्त कुरामा आफू सहमत भएको बताएका हुन्।

‘सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले दिएको वक्तव्य पनि मैले हेरेँ र उक्त वक्तव्य नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा पनि ठीक नै छ’, अध्यक्ष प्रचण्डले भने, ‘वक्तव्यमात्रै ठीक भएर भएन्। त्यो एक्सन पनि ठीक हुन प¥यो भन्ने माननीय सदस्यहरुको भावना विलकुल सही छ।’ अब पत्र लेख्ने मात्रै नभइ निर्णायक पहल गर्नुपर्ने बेला आएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले लिपुलेक लगायत अन्य विवाद भएका स्थानका विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डले बताए। भारत र चीनले लिपुलेकको विषयमा गरेका सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभई त्रिदेशीय बन्न पुगेको उनको भनाइ थियो। ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ। यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ’, उनले भने, ‘भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>