Breaking News
बालुवाटारमा उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तनको तयारी

काठमाडौं, बैशाख २३-
लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको छ ।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था उत्पन्न भइरहेको अवस्थामा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएर छलफल गर्ने भएका हु न्। प्रधानमन्त्रीले पनि लकडाउनको अहिलेसम्मको अवस्थाबारेमा धारणा राखेपछि सरकारले थप निर्णय गर्ने भएको छ ।
सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै रेड, एल्लो र ग्रिन जोन घोषणाको तयारी गरेको छ। जसअनुसार कोरोना फैलिएको क्षेत्रलाई रेड जोनमा राखिने छ भने रेड जोनको सीमा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ।
कोरोना नदेखिएका र हालसम्म सुरक्षित मानिएका क्षेत्रलाई ग्रीन जोनमा राखेर त्यही अनुसार लकडाउन खुकुलो बनाइने भएको छ।
लकडाउनको म्याद सकिँदै गर्दा कोरोना संक्रमितको संख्या अचानक थपिएपछि लकडाउनको पनि म्याद थप्ने तयारी सरकारले गरेको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरुले सरकारलाई तत्काल लकडाउन खुकुलो नपार्न सुझाव दिएका छन् ।
यसअघि काठमाडौं उपत्यकामा लकडाउनलाई केही खुकुलो बनाउने सरकारको मनिस्थिति रहे पनि जोखिम बढ्ने देखिएपछि तत्काललाई लकडाउन थप कडा बनाएर कार्यान्वयन गर्न सरकारमाथि दबाब बढेको छ। चौथो पटक थप गरेको लकडाउनको म्याद पर्सि २५ गते सकिँदैछ।