Breaking News

स्वास्थ्य मन्त्रालय भन्छ : डिस इन्फेक्सन स्प्रे मान्छेका लागि होइन, हानि गर्छ, बन्द गरौँ

Banner

काठमाडौं, बैशाख २२-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरमा कीटनाशक पदार्थ छर्कदैँमा कोरोना भाइरस निको नहुने तर त्यसले स्वास्थ्यमा असर गर्ने जनाएको छ ।

काठमाडौंको न्युरोडमा ‘कोराना भाइरसबाट जोगाउन’ मानिसको शरीरमा ‘औषधि’ पानी स्पे्र गरिएको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

ती तस्विरहरूमा व्यक्तिगत सुरक्षा कवच (पीपीई) पहिरिएका दुई जनाले मानिसलाई राखेर पूरै शरीर भिज्ने गरी रसायनहरू मिसाइएको पानी पाइपबाट छर्किएका (स्प्रे गरिरहेका) देखिन्छन् ।

देशका विभिन्न स्थानमा कीटनाशक झोलहरु शरिरमा छर्कने गरिएका खबर तथा तस्बिरहरु सार्वजनिक भइरहेका बेला मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्ता किटनाशक झोलमा पानीमा मिसाइएको सोडियम हाइड्रोक्लोराईड र क्लोरिनको झोल हुने भएकाले त्यसले शरिरमा हानी पुर्‍याउने बताए।

‘शरिरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, कुनै ब्लिच, कीटनाशक झोल, क्लोरिन जस्ता डिसइन्फेक्टहरु शरिरमा लगाउँदा वा छर्कदा यो भाइरस नास हुँदैन,’ उनले भने, ‘भाइरसको वृद्धि हाम्रो शरिरको कोषभित्र भइरहेको हुन्छ। यस्ता झोलहरुले हाम्रा आँखा नाक मुख आदिमा धैरै हानी पुर्‍याउँछन। मानिसमा सिधैँ यस्ता कीटनाशक पदार्थहरु छरिनु हानिकारक छ।’

तस्विरमा कोही आफ्नो बालबालिकाको आँखा छोपिदिँदै गरेका त कोही स्प्रे शरीरमा परेपछि दुवै हातले आँखा मिच्दै गरेका देखिन्छन् ।

यस्ता तस्विर शेयर गर्दै केही चिकित्सकहरूले ‘कोरोनाको नाममा मानव स्वास्थ्यमाथिको खेलबाड बन्द गरौँ !’ भनेर सामाजिक सञ्जालमा सन्देश प्रवाह गरिरहेका छन् ।

कोरोना भाइरसको जोखिमबाट बच्न विभिन्न नाकामा डिस इन्फेक्सन टलेन निर्माण गरी सवारी साधनमा स्प्रे गर्ने गर्ने काम भइरहेको छ । विभिन्न अस्पताल तथा स्थानीय तहले समेत अहिले मानिसमा कोरोना भाइरस संक्रमण रोकथाम गर्ने भन्दै शरीरमा स्प्रे गराएको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>