स्वास्थ्य
क्वारेन्टिनमा बसेकाहरुलाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु

झिमरुक, वैशाख २२–
प्युठानका क्वारेन्टिनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दले जनाएको छ ।
सोअनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताउनुभयो ।
प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उहाँको भनाइ छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिनुभयो । –रासस