चितवन विशेष
आदर्श गृहमा नेविसंघ सप्तगण्डकीको खाद्यान्न सहयोग
चितवन, वैशाख २१–
नेपाल विद्यार्थी संघ (नेविसंघ) सप्तगण्डकी बहुमुखी क्याम्पस इकाईले ५१ औं स्थापना दिवसको अवसर पारेर आदर्श गृहलाई खाद्यान्न सहयोग गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित आदर्श गृहमा शनिबार एक काईक्रमकाबीच नेविसंघले आवश्यक खाद्यान्न सामग्रीहरु सहयोग गरेको हो ।
इकाई सभापति राजेश भुषालले सो सामग्री हस्तान्तरण गरेका थिए । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले खाद्यान्नमा समस्या भएपछि सहयोग गरिएको अध्यक्ष भुषालले बताए । उनले लकडाउनका कारण अन्य कार्यक्रमहरु नगरी सहयोगी काम मात्र गरिएको बताए ।
खाद्यान्न सहयोग गर्न नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य कल्पना पौडेल, सरोज रेग्मी, नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार, नेपाली काँग्रेस चितवन क्षेत्र नं.२ (ख)का सहसचिव करुणकान्त पोखरेल, तरुण दलका जिल्ला सचिव प्रल्हाद उप्रेती, प्रवक्ता विश्व बास्तोला, नेविसंघ नेताहरु परमेश्वर खनाल, कृष्ण बगाले, मैयाँदेवी कन्या कलेज इकाई सभापति प्रतिशा गुरुङ, अरुणोदय कलेज इकाइ सभापति कृष्ण सापकोटालगायत नेविसंघका नेताहरु पुगेका थिए ।