एथलेटिक्स

चितवन राष्ट्रिय म्याराथनको उपाधि पार्कीलाई

Banner

चितवन, माघ ११-

रोटरी क्लब अफ रत्ननगरले गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्रका गोपाल चन्द्र पार्कीले हात पारेका छन् । आज भएको प्रतियोगितामा उनले निर्धारित दूरी १५ दशमलब ४ किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिस थापामगर र तेस्रो स्थानमा त्रिभूवन आर्मी क्लबका दिपक अधिकारी बन्न सफल भए । उनीहरुले क्रमश ४२ मिनेट ४१ सेकेण्ड, ४४ मिनेट ११ सेकेन्डमा निधारित दूरी पार गरे । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डामाराबाट सुरु भएको म्याराथोन रत्ननगरको स्टार वैङ्क्युट होटलमा आएर सकिएको थियो ।

प्रतियोगितामा बिभागीय धाबक नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेपाङ् धावकहरु, र बिदेशी सहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा तीन जना विदेशी, ७९ जना चेपाङ् धावकको सहभागिता रहेको पोख्रेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद सहित चाँदीको मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा १० नम्बर सम्म आउने धावकहरुलाई एक हजार नगदले सम्मान गरिएको छ । त्यसैगरि प्रतियोगिता पूरा गर्ने ४४ जना महिला धावकलाई नगद पाँच हजारले सम्मान गरिएको छ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्य समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, मिस नेपाल अर्थ रिया बस्नेतलगायतले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
रोटरी क्लब अफ रत्ननगरले यस अघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको सञ्चालन, रोटरी सार्वजनिक शौचालय निर्माण, वृहत् रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टाघरको निर्माणको काम समेत सुरु गरेको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>