चितवन विशेष

प्रेस युनियनको केन्द्रीय बैठक चितवनमा, सरकारी विद्येयकको चर्को आलोचना

Banner

विप्लव काफ्ले

चितवन, माघ ७-

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ ।

आगामी महाधिवेशनको मिति घोषणा गर्ने गरी बैठकमा छलफल चलिरहेको छ । केन्द्रीय अध्यक्ष बद्री सिग्देलले महाधिवेशनमा लैजाने गरी केही ठोस निर्णय हुने बताए । नेपाल प्रेस युनियन चितवन शाखाको कार्यालय भवन बसेनीमा बसेको बैठकले प्रेस र नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले ल्याएका विद्ययेक विरुद्ध कडा संघर्षसहितका कार्यक्रम समेत घोषणा गर्ने तयारी गरेको छ ।

केन्द्रीय समितिको बैठक उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएका विद्ययेकमा विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकमा आघात पुग्ने गरी राखिएका प्रावधान हटाउन माग गरे । ‘सञ्चारमन्त्रीले विधायन व्यवस्थापन समितिमा जनाएको प्रतिबद्धता हेर्दा हाम्रो आन्दोलनबाट आत्तिएको अनुभूति भएको छ’, उनले भने, ‘यतिलेमात्रै सरकारको निरङ्कुस यात्रामा अल्पविराम लाग्छ भन्ने छैन, एकातिर लचिलो बन्ने, अर्को कानुनले पेल्ने नीति देखिन्छ ।’ उनले पत्रकारलाई कमजोर, हतोत्साहित र नियन्त्रण गर्ने उद्देश्यले कानुन निर्माण भइरहेको महसुस भएको बताए । ‘विद्ययेकका प्रावधान हेर्दा संविधानले परिकल्पना गरेका शक्ति पृथकीकरण, तीन पीलरको शासन प्रणालीलाई, स्वतन्त्र अदालतको अस्तित्वलाई पनि चुनौती दिएको छ’, उनले भने, ‘अर्धन्यायिक अदालतबाट पाँच वर्ष जेल, १५ लाखसम्म जरिवानाको व्यवस्था गरेको छ, यो विरुद्ध महासंघ लडिरहेको छ ।’ उनले सरकारले प्रस्ताव गरेका विद्ययेक हुबहु पारित भएमा पालैपालो पत्रकार जेल जाने अवस्था आउने बताए । ‘हामीले प्राप्त गरेका स्वतन्त्रता सबै गुुम्न अवस्था छ’, उनले भने, ‘कोही जेल जाने, कोही छुट्ने, कोही जेल जान तयार हुने क्रम दोहोरिरहने छ ।’ उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी ऐन प्राज्ञिक, बौद्धिक वर्गलाई लक्षित गरी दुरुपयोग हुने खतरा रहेको बताए ।

नेपाल प्रेस युनियनका सल्लाहकार डा. सुरेश आचार्यले नेपाली प्रेसको अधिकारका लागि सक्रिय हुने बेला आएको बताए । ‘अब संसदको प्रतिपक्ष जस्तो कमजोर नहोस्’, उनले भने, ‘आमनागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी स्वतन्त्र पत्रकारिताका मूल्य मान्यता कुल्चनेसम्मका प्रावधान राखेर बनाइएका विद्ययेक सच्याउन खबरदारी गर्नुपर्छ ।’ उनले विगतमा विद्ययेक छलफलमा रहँदा विषयगत समितिमा सहमति खोज्ने अभ्याससमेत कुल्चेर बहुमतका आधारमा निर्णय गर्न खोजिनु गलत भएको बताए । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले प्रेस स्वतन्त्रता रक्षाका लागि आन्दोलन चाहिएको बताए । ‘नागरिकका अधिकारसमेत हडप्ने गरी कानुन बनाउन सरकार लागेको छ’, उनले भने, ‘सरकारलाई खबरदारी गर्न पत्रकार सक्रिय हुनुपर्छ ।’ उनले युनियनको महाधिवेशन चितवनमै गर्न सुझाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>