गण्डकी

चितुवाको आक्रमण नरोकिँदा त्रास

Banner

दमौली,  माघ २-
बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाए । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाउनुप¥यो ।

भानुमा पछिल्लो समय चितुवाको आक्रमण रोकिए पनि अझै ढुक्कसँग बस्ने अवस्था नरहेको स्थानीय मायादेवी अधिकारीले बताए । “चितुवाले कतिबेला आक्रमण गर्ने हो थाहा छैन, ढुक्कसँग बस्न सकेका छैनौ,” उनले भने, “साँझ पर्न थालेपछि सतर्कता अपनाउने गरेका छौ ।”

चितुवा आतङ्कका कारण साँझ ५ बजेपछि घरबाट बाहिर निस्कन बन्द गरिएको शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका फूलमाया नेपालीले बताउनुभयो । “साँझ पर्न थालेपछि चितुवा देखिन थालेकाले सबै घरभित्रै बस्ने गरेका छौं,” उहाँले भन्नुभयो । स्थानीय महिला घाँस दाउरा गर्न जङ्गलमा जान छाडेका छन् । स्थानीयवासी काजी खत्रीले विद्यालय पु¥याउन र विद्यालयबाट ल्याउन अभिभावक बालबालिकासँगै जाने गरेको सुनाए ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा आक्रमणबाट सबैभन्दा बढी भानुवासी प्रभावित रहेकोले ढुक्कसँग बस्नसक्ने अवस्था निर्माण गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको जानकारी दिए । उहाँका अनुसार भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि नौ वटा काठको खोर बनाइएको छ । उनका अनुसार चितुवा नियन्त्रणका लागि उक्त खोर प्रभावकारी देखिएको छ ।

पछिल्लो समय वन्यजन्तुबाट मानिस, घरपालुवा जनावर र खेतीपातीको क्षति हुने क्रम बढ्दै गइरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । मानवबस्तीमा चितुवा प्रवेश गरी बालबालिकालाई आक्रमण गर्न थालेपछि जिल्लास्थित डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, नगरपालिका र सामुदायिक वनका पदाधिकारीले नरभक्षी चितुवा नियन्त्रणका विभिन्न प्रयासहरू जारी राखेको बरालले जानकारी दिए ।

चितुवा नियन्त्रण गर्न भानुमा थापिएको काठको खोरमा हालसम्म पाँच र ब्यास नगरपालिका–९ को फलामको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आइसकेको छ । उक्त चितुवालाई सुरक्षित रुपमा अन्यत्रै स्थानान्तरण गरिएको छ ।

चितुवाका आहारा मृग, बँदेल, खरायो, वन कुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण बढेको बरालले बताए । “ठूलो मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकोले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ,” बरालले भने । अँध्यारो र घर आसपास झाडी भएको ठाउँबाट चितुवाले आक्रमण गर्ने देखिएकोले त्यसमा सर्तक हुन भनिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट रु तीस लाख बजेट विनियोजन गरिएको बताए ।

डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट ज्यान गुमाउने भानुका ६ बालबालिकाका परिवारलाई राहतस्वरुप जनही रु दश लाख उपलब्ध गराइसकेको र बाँकी दुई बालकका परिवारलाई राहत वितरणका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>