चितवन विशेष

चितवनमा रत्ननगर महोत्सव-२०७६ आजदेखि सुरु

Banner

चितवन, पुस २५ –

पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौली चौरमा आजदेखि १०औँ रत्ननगर महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको उद्घाटन पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र प्रसाद पाण्डेले गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै पाण्डेले निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप गर्ने रणनीति नलिएको बताउनुभएको छ । सरकारका विरोधीहरुले निजी सम्पत्ति सरकारले कब्जा गर्दैछ भनेर हल्ला फिजाएको भन्दै पाण्डेले सरकारको काम कर लिने भएकाले निजी सम्पत्ति नहडप्ने बताउनुभयो । निजी सम्पत्तिमाथि सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पार्दै पाण्डेले निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गनुभयो । पुँजीको विकास नभएसम्म समाजवाद प्राप्त गर्न नसकिने भन्दै पाण्डेले समाजवादमा पुग्नकै लागि भए पनि पुँजीको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

आगामी माघ ७ गतेसम्म सञ्चान हुने महोत्सवमा प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सरकारले व्यवसायीको हकहितका लागि काम गरिरहेको बताउनुभयो । स्थानीय स्तरमा हुने मेलामहोत्सवले समृद्धि ल्याउनका लागि मद्दत गर्ने भन्दै पोखरेलले महोत्सवहरुमा आयात प्रतिस्थापन गर्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । महोत्सवको उद्घाटनसत्रसँगै आजैदेखि पञ्चकन्या मध्यवर्ती सामुदायिक वनमा जीप सफारी समेत शुरु गरिएको छ ।

कार्यक्रममा रत्ननगर महोत्सवका मूल संयोजक एवम् उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दुरगामी महत्व बोकेको बताउनुभयो । प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीको भनाइ छ ।

महोत्सव उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता तेजेन्द्रबहादुर खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगरपालिकाकी कार्यवाहक प्रमुख विमला दुवाडी, सामाजिक विकास मन्त्रालय प्रदेश ३ का सचिव गोकर्ण दुवाडी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले मन्तव्य राखेका थिए ।

यसैबीच, रत्ननगर महोत्सवको अवसर पारेर १३औँ साग प्रतियोगितामा तेक्वान्दो खेलबाट नेपालका लागि स्वर्ण पदक प्राप्त गर्ने खेलाडी पार्वती गुरुङ र कास्य पदक प्राप्त गर्ने खेलाडी शिशिर श्रेष्ठलाई उद्योग वाणिज्य संघ रत्ननगरले नगदसहित सम्मान गरेको छ । उनीहरुलाइलाई प्रमुख अतिथि पाण्डे, महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मीसहितले सम्मान गर्नुभएको हो ।

महोत्सव अवधिभर व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको छ । माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुने जानकारी दिइएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको आयोजकको भनाइ छ ।

स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सकवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>