चितवन विशेष

चितवनका यौनिक अल्पसंख्यकले पाएनन् पहिचानसहितको नागरिकता

Banner

निशा श्रेष्ठ

चितवन, पुस २३-

चितवनमा यौनिक, लैंगिक अल्पसंख्यक समुदायले पहिचानसहितको नागरिकता पाउन नसकेको तथ्य फेला परेको छ ।

निल हिरा समाजको आयोजना र क्यानेडियन फन्ड फर लोकल इनिसिएटिभको सहयोगमा आज भरतपुरमा भएको एलजीबीटीआईको मानवअधिकारसम्बन्धी छलफलमा सो तथ्य फेला परेको हो ।  भरतपुर महानगरपालिका–९ शरदपुरकी २१ वर्षीय संगिता अधिकारीले आफ्नो पहिचानसहितको नागरिकता बनाउन सकेकी छैनन् । उनी शारीरिक रुपमा पुरुष भए पनि भावनात्मकरुपमा महिला हुन् । उनको हाउभाउ र लवाइखवाई महिलाको जस्तै नै देखिन्छ ।

अधिकारीलाई पुरुषको नामबाट नागरिकता बनाउन मन छैन । आफ्नै पहिचानसहितको नागरिकता बनाउन प्रशासनले दिएको छैन । विगत दुई वर्षदेखि आफ्नो पहिचानसहितको नागरिकता बनाउन महानगरपालिकादेखि वडासम्म धाइरहेकी छन् । वडादेखि महानगरसम्म पुग्दा लिङ्ग परिवर्तनको डाक्टरको रिपोर्ट माग्ने गरेको उनले दुःखेसो पोखिन् । जबकी नेपालको कानुनअनुसार उनीहरुले निर्वाधरुपमा नागरिकता पाउने अधिकार छ ।

परिवारले उनलाई स्वीकार गरे पनि प्रशासनले अनागरिक बनाइरहेको उनले गुनासो गरिन् । नागरिकता नहुँदा परिवारले दिने पैतृक सम्पतिदेखि आफूले कमाएको पैसा बैँकमा जम्मा गर्न नपाउने जस्ता थुप्रै समस्या उनले झेलिरहेकी छन् । नेपालको सर्वोच्च अदालतले यौनिक तथा अल्पसंख्यलाई पहिचानसहितको नागरिकता दिन निर्देशनात्मक आदेश दिइसकेको छ भने गृहमन्त्रालयले पनि २०१३ को नागरिकता सम्बन्धी निर्देशिकामा पनि महिला, पुरुष र अन्य गरी पहिचानसहितको नागरिकता पाउने अधिकारबारे उल्लेख गरेको छ । काठमाडौंलगायत अन्य जिल्लामा यौनिक, लैंगिक अल्पसंख्यकले पहिचानसहितको नागरिकता बनाइरहे पनि चितवन जिल्लामा भने उनीहरुले पहिचानसहितको नागरिकता बनाउन सकेका छैनन् । अधिवक्ता कल्पना उप्रतीले यौनिक लैंगिक पहिचानसहितको नागरिकता लगायत कानुनमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि सम्बन्धित समुदायदेखि नागरिक समाज लाग्नुपर्ने बताउँछिन ।

मिलन वास्तोला र निर्मला वास्तोलाको समस्या भने फरक छ । उनीहरुले समलिंगी विवाह गरेका हुन । उनीहरुले २०६६ फागुन ११ गते ३ बजे जन्मेको बच्चा ६ बजे प्रक्रिया पु¥याएर धर्मपुत्री बनाए । अहिले १० वर्ष पुगेकी ती छोरीको उनीहरुले जन्मदर्ता बनाउन सकेका छैनन् । नेपालको कानुनमा अझै पनि समलिंगी विवाहलाई मान्यता दिएको छैन । जसको कारण धर्मपुत्र वा पुत्री बनाइ ल्याएका बच्चालाई आफ्नो नाम थर दिन नसक्ने समस्या रहेको निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले बताइन् । कार्यक्रममा सहभागीले पैतृक सम्पतिमा पनि घरपरिवारसँग लड्नुपरेको अनुभव सुनाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>