चितवन विशेष

रत्ननगर महोत्सवको तयारी सकियो, उपराष्ट्रपति पुनले उद्घाटन गर्ने

Banner

चितवन, २३ पुस-

पूर्वीचितवनको टिकौली चौरमा सञ्चालन हुने रत्ननगर महोत्सव–२०७६ को तयारी पूरा भएको छ ।

‘रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ पुस २५ देखि माघ ७ गतेसम्म चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा रत्ननगर महोत्सवको आयोजना गरिएको छ । महोत्सव स्थल टिकौली चौरमा आज पत्रकार सम्मेलन गर्दै आयोजक रत्ननगर उद्योग वाणिज्य संघले महोत्सवको तयारी पूरा भएको जनाएको हो ।

चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले विशिष्ट र दूरगामी महत्व बोकेको मूल संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । प्रत्येक दुई वर्षमा आयोजना गरिने महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको रेग्मीले बताए । उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवको उद्घाटन गर्ने जनाइएको छ ।

महोत्सव अवधिभर व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई जोड दिइएको रेग्मीले बताए । माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ बिजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुने जानकारी दिइएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सीसीटीभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बिमा समेत गरिएको रेग्मीले बताए ।

सो महोत्सवमा विशेष आकर्षणका लागि रुपमा पछिल्लो समय चर्चामा रहेको जीपलाइन समेत खेल्न पाउने व्यवस्था गरिएको छ । स्वदेशी तथा विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहने जानकारी दिँदै रेग्मीले महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिए । पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने भन्दै रेग्मीले सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि २५ रुपैयाँको टिकटको व्यवस्था गरिएको बताए । महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा तेस्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना समेत गरिएको संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिए । उनकाअनुसार सो फेष्टिबलमा चिकेनसम्बन्धी ५० वटा स्टल रहनेछ । कुखुराजन्य उत्पादनको खपत बढाउने उद्देश्यले चिकेन एण्ड एग फुड फेस्टिबल गर्न लागिएको बिसुरालले जानकारी दिए । महोत्सवको उद्घाटन पूर्व नेपाल माविको परिसरबाट विभिन्न सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>