चितवन विशेष

रंगशाला बनाउन सरकारी सहयोग पाएपछि भावुक बने धुर्मुस सुन्तली

Banner

चितवन, पुस २२-

चितवनको भरतपुर-१६ मा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले रकम दिने भनेर घोषणा गरेको धेरै भइसक्यो । तर हाल सम्म पनि सो रकम दिएको छैन । त्यसैगरी प्रदेश ३ सरकारले पनि रगंशाला निर्माणका लागि रकम सहयोग गर्ने घोषणा गरेपनि अहिलेसम्म रकम दिएको छैन । तर आज (मंगलबार) भने हेटौंडा उपमहानगरपालिकाले रंगशाला निर्माणका लागि फाउण्डेशनलाई ३० लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्‍यो ।

पहिलो पटक सरकारी रकम प्राप्त गरेकोमा भावुक हुँदै सिताराम कट्टेलले भने–‘धेरै आश्वासन आएका छन् । तर, पनि सहयोग भने आएको छैन । सरकारी सहयोग रकम हस्तान्तरण गर्ने पहिलो सरकारी निकाय हेटौंडा उपमहानगरपालिका बनेको छ । अहिले काम सुरुवातको समयमा धेरैले विश्वास पनि नगरेका होलान तर, काम देखिएपछि धेरैले सहयोग पनि गर्नुहोला, अहिले गरेको सहयोग महत्वपूर्ण हुनेछ ।’

फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरे सरकारीतर्फको पहिलो रकम घोषणा गरेको दोस्रो दिनमानै हस्तान्तरण गरेकोमा निकै खुसीसंगै भावुक समेत बनिन् । उनले भनिन्–‘जनताले तिरेको करको रकम स्थानीय सरकारले सहयोग गरेकोमा हामी निकै खुसी छौं । सरकारी बजेट तर्फबाट सहयोगसंगै व्यक्ति र संघसंस्थाको सहयोगबाट नै हामीले यो काम सुरु गरेका हौं । धेरैले यो काम कसरी संभव होला भन्नेहुरुलाई हामीले प्रमाणित गरेर देखाउँदै छौं ।’ उनले धुर्मुसको अथक प्रयासबाट यो संम्भव बन्दै गएको बताइन् । रंगशाला निर्माणमा दिनहुँ तीन सय जना कामदार काम गरिरहेका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ । शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ । रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध, स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बिनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ ।

यो रंगशालामा चार वटा ढोका हुनेछ । १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ । ठाउँठाउँमा हुने एलइडी स्क्रिनबाट खेललाई अझै नजिकबाट नियाल्न सहयोग पुग्नेछ । स्पेशल फर्डलाइट जडान गरिने मैदानमा दिन र रातको फरक हुनेछैन । नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रशारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ । यसबाट नेपालको मौलिकताको पनि प्रचार हुनेछ । जसले नेपालको पर्यटन विकासमा ठूलो भूमिका हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ ।

मल्टी प्रपोजको रंगशालामा क्रिकेट बाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिङलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । खेल अभ्यासका लागि दुई वटा छुट्टै खेल मैदान निर्माण हुनेछन् । खेलाडीहरू बस्ने कक्ष, आराम कक्षलगायत विशेष सुविधासहितको हुनेछ । बाहिर रहेका पाटेबाघ, एक सिंगे गैंडा, हात्ती लगायतका लोपोन्मुख जीवजन्तुको भातुका मुर्तिले पनि विशेष शोभा बढाउनेछ ।

गौतमबुद्धका विषयमा भएका कतिपय भ्रम चिर्न र वास्तविकता विश्वलाई चिनाउन, पर्यटन हब बनाउन कृषि उपजहरूको उत्पादन बढाउन र विश्वको ध्यान तान्न विशेष सहयोग पुर्‍याउनेछ।

यस्तै ७७ वटै जिल्लामा छरिएर रहेका नव प्रतिभाहरूलाई छनोट गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको विकास गर्न एकेडेमीको रूपमा यसलाई विकास गरी स्पोर्ट हब बनाउने फाउण्डेसनको लक्ष्य रहेको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय रंगशाला निर्माणमा हेटौंडाको पहिलो सहयोग

हेटौंडा उपमहानगरपालिकाले धुर्मुस सन्तुली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गकम आज एक समारोहका बीच हस्तान्तरण गरेको छ । हिजो मात्र घोषणा गरेको ३० लाख रुपैयाँको चेक आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तीलालार्ई हस्तान्तरण गरे ।

करिब साढे दुई अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागिएको क्रिकेट रंगशालाका लागि तीनै तहका सरकार तर्फको यो लगानी हेटौंडा उपमहानगरपालिकाको पहिलो हो । तीनै तहका सरकारले रंगशाला निर्माण गर्नकालागि सहयोगको आश्वासन दिए पनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् । तर, देशभरी रहेका ७ सय ५३ वटा स्थानीय तह, सात वटा प्रदेश सरकार र संघीय सरकार मध्य पहिलो पटक हेटौंडा उपमहानगरपालिकाले सरकारी तर्फको सहयोग हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धेरै व्यक्ति संघ, संस्था, विदेशमा रहेका नेपालीहरुले सहयोग गरे पनि तीनै तहका सरकारले भने सहयोग हस्तान्तरण गरिसकेका थिएनन् । अहिलेसम्म रंगशाला निर्माणको काम व्यक्ति संघ, संस्थाहरुले सहयोगले मात्र भएको छ । तर, रंगशाला निर्माणको काम तिव्रगतिमा अगाढी बढाउनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको मेयर महतले बताए । सबै तहका सरकारको सहयोग यही रकेटको गतिमा हुने हो भने तोकिएको समय भन्दा अगावै काम सकिने अध्यक्ष कट्टेलले बताए ।

क्रिकेट रंगशाला निर्माण गर्ने काम तिव्र गतिमा अगाडी बढेकाले यसलाई सबै सरकारले उत्तिकै सहयोग गर्नुपर्ने बताउँदै मेयर महतले भने–‘सरकारले गर्नु पर्ने काम कलाकारहरु आएर गर्नुभएको छ । यो ठूलो काममा थोरै भने पनि स्थानीय सरकारले सहयोग गरौं भनेर रकम लिएर आएको हुँ । फेरी पनि यो अभियानमा सहयोग निरन्तर गर्ने छौ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>