देश/प्रदेश

नर्सिङ कलेज खारेज भएपछि ३० जना विद्यार्थीले दिए आत्मदाहको चेतावनी

Banner

काठमाडौ, पुस २२-

अदालतको आदेशले अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि अन्याय हुँदा पनि सुनुवाइ हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौं, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् । दुर्गम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट बञ्चित भएका थिए ।  उनीहरुले सीटीईभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो । पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो ।

पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सीटीईभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् । उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् । उनले भनिन्, ‘हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनायो ।’

२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् । २२ साउनमा सीटीईभीटीलाई अदालतले स्टे अर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सीटीईभीटीले रोकेको खुलाइन् । सीटीभीटीसँग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तेस्तै रहेको प्रेमिका शाहीले बताइन् ।  शाहीले आफूहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिए पनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् । उनले भनिन्, ‘अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत बाध्य हुनेछौं । विद्यार्थीको हक हितमा सक्रिय संगठनहरुले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् । पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>