देश/प्रदेश

पुस २७ गते अघिनै सभामुखको नाम टुंगिन्छ: दिनानाथ शर्मा

Banner

काठमाडौं, पुस २१-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन् ।

सोमबार रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता शर्माले सभामुखमा आफ्नो पार्टीको दाबी रहेको सुनाउँदै अब बस्ने प्रतिनिधिसभाको बैठकभन्दा अघि नै सभामुख कसलाई बनाउने भन्नेबारे टुंगो लगाउने बताएका हुन् । उनले भने,‘अहिले पनि उपसभामुख हाम्रै पार्टीको सांसद हुनुहुन्छ, हामीले सभामुखमा दाबी गरेपछि अब उहाँले राजीनामा दिनुहुन्छ । संविधानले पनि सभामुख र उपसभामुख भिन्न दल र भिन्न लिङ्गको हुनुपर्छ भनेको छ । त्यसैले सभामुख हामीले लिएपछि उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

साक्षात्कामा बोल्दै उनले पार्टीबाट सभामुख कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको जीकिर गरे । उनले भने,‘हामी पुष २७ गतेभित्रै यो सबै कुराको टुंगो लगाउँछौं । जो भए पनि नेकपाकै हुनुहुन्छ ।’ उपसभामुख प्रतिपक्षी दललाई दिने पनि उनले जनाए । उनले भने,‘अहिले यसबारेमा छलफल हुँदैछ । हामी सहमति अनुसारनै अघि बढ्छौं ।’ उनले नेकपामा अब पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र कोही पनि नभएको जीकिर गरे । उनले भने,‘पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भन्ने कुरा मेरो दिमागमा छैन । मैले त पूर्व भन्ने कुरा डिलिट नै गरिसकें । यदि कोही नेताहरुसँग यो कुरा छ भने तपाईँहरुले पनि डिलिट गर्नुहोस् ।’ उनले पार्टीभित्र सभामुख कसलाई बनाउने भन्नेबारे व्यक्ति केन्द्रित छलफल नभएको स्पष्ट पारे ।

शर्माले भने,‘नेकपाबाट सभामुख कसलाई बनाउने भन्नेबारे हाम्रा अध्यक्षद्वयबीच छलफल भइरहेको छ । उहाँहरुले दुई तीन मिनेटमै टुंगो लगाउने भन्नुभएको छ । उहाँहरुले जे निर्णय गर्नुहुन्छ, त्यही हुन्छ । यसमा कुनै समस्या छैन् ।’ उनले अहिले प्रतिपक्षमा नेपाली कांग्रेसमात्रै नभएको जीकिर गरे । उनले भने,‘हामी सबैसँग छलफल गरिरहेका छौं । एउटा निश्कर्षमा पुग्छौं ।’ तर सभामुख चयन प्रक्रियामा समय लाग्नु गलत भएको उनको दुःखेसो छ । सभामुख चयनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै चासो नराखेको पनि उनले स्पष्ट पारे ।  उनले नेताहरुले राष्ट्रपतिलाई भेट्नुलाई आफूले नौलो रुपमा नलिएको पनि जीकिर गरे । उनले भने,‘सरकारले पनि राष्ट्रपतिलाई ब्रिफ गर्छ । आवश्यक परे उहाँले पनि सरसल्लाह गर्नुहुन्छ । सभामुख चयनमा उहाँले कुनै चासो राख्नुभएको छैन् । यो संसदको चासोको विषय हो । अब सभामुख चयन प्रक्रिया लम्बिँदैन् । यसमा राष्ट्रपतिको कन्र्सन छैन् ।’

शर्माले प्रदेश नम्बर २ को सरकार गिराउने वा ढाल्ने पक्षमा आफूहरु नरहेको पनि जीकिर गरे । उनले भने,‘हाम्रो पार्टीले त्यस्तो केही सोचेको छैन् ।’ एमसीसी पारित हुने उनले विश्वास दिलाए । उनले भने,‘हामी छलफल गरेर यसलाई सहमतिमै पारित गर्छौं । तर, एमसीसीमा रहेका राष्ट्रिय अहितका विषय सच्याउँछौं ।’ कार्यक्रममा राजपा नेपालका वरिष्ठ नेता तथा संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुखमा आफूहरुको कुनै दाबी नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘सभामुख वा उपसभामुखमा हाम्रो पार्टीको दाबी छैन् । किनकी हाम्रो सामथ्र्य छैन् । यदि बहुमत हुनेले हामीलाई सभामुख वा उपसभामुख दिन तयार भए हामी पनि लिन तयार छौं । तर, बहुमत हुनेले समर्थन वा प्रस्ताव नगरे हामी दाबी गर्दैनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>