कृषि

चितवनको पोल्ट्रीमा सिन्डिकेट: चल्ला मारेर मासु र अण्डामा मनपरी मूल्य वृद्धि

Banner

नारायणी अनलाइन डेस्क

चितवन, पुस ९-

चितवनमा कुखुराको मासु र अण्डामा मूल्य वृद्धि भएको छ ।

अण्डा उत्पादक संघले मंगलबार अण्डामा प्रति क्रेट १५ रुपैयाँ वृद्धि गरेको छ भने मासुमा भने अघोषितरुपमा नै मूल्य वृद्धि भएको छ । चितवनका मासु बिक्रेताहरुको आधिकारिक संघसंगठन नभए पनि आधिकारिकरुपमा मासुको मूल्य भने भोलि बिहीबारबाट वृद्धि गर्ने भएका छन् ।
सिनर्जी मिट सप्लायर्सका प्रवन्धक सुमन जोशीले कुखुराको मुल्यमा प्रति केजी २० रुपैयाँको दरले मुल्य वृद्धि भएकोले पनि मासुको मूल्य वृद्धि हुने बताए । उनले भने, ‘चितवनमा कुखुरा मासु व्यवसायीको आधिकारिक निकाय नभए पनि कुखुराको खरिद मूल्यमा वृद्धि भएकोले मासुको मूल्य पनि स्वत बढ्न जान्छ ।’ त्यसैगरी अर्का व्यवसायी चितवन भ्याली कोल्ड स्टोरका प्रवन्धक तेजनारायण पाण्डेले पनि भोलि बिहीबारबाट प्रतिकेजी कुखुराको मूल्यमा २० रुपैयाँले वृद्धि हुने बताए । अहिले चितवनमा कुखुराको मासु प्रतिकेजी २६० रुपैयाँ रहेको छ अब २० रुपैयाँ वृद्धि हुदा २८० रुपैयाँ पुग्ने देखिन्छ । तर, व्यवसायीहरुको अनुसार काठमाडौँको बजार र चितवनको बजारमा मूल्यमा एकरुपता भने छैन । काठमाडौँकै उत्पादनलाई एउटा भाउ र बाहिरको उत्पादनलाई फरक भाउ तोक्ने गरेको व्यवसायीको गुनासो छ । ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासु र अण्डाको मूल्य बढेको हो । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा मूल्यवृद्धि गरेका हुन् । बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको मासु व्यवसायीहरुले जानकारी दिएका छन् ।

अर्काेतर्फ मूल्य वृद्धिबारे कुखुरा पालक किसानहरु भने बेखबर नै छन् । नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले मासुको मूल्य वृद्धिबारे आफूहरुलाई केही थाहा नभएको बताए । उनले भने, ‘ बजार पूरै बिचौलियाको नियन्त्रणमा भएकोले पनि चितवनमा मासुको मूल्य कसैको नियन्त्रणमा छैन ।’ अण्डामा मूल्य वृद्धि भएको सुने पनि मासुमा भने आफूलाई थाहा नभएको उनले बताए । चितवनका पोल्ट्री व्यवसायीहरु यस क्षेत्रमा देखिएको संकटबारे प्रदेशको कृषि मन्त्रालयमा छलफल गरिरहेको अवस्थामा एकाएक मूल्य वृद्धिको समाचार सार्वजनिक भएको हो । अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले भने अण्डाको मूल्यमा आधिकारिक रुपमा नै वृद्धि भएको बताए । उनले अण्डाको मूल्य वृद्धिले उपभोक्तामा भने मार नपर्ने विचार राखे । अहिले ठूलो अण्डा प्रतिक्रेट २९० र सानो अण्डा २७५ रुपैयाँमा उपभोक्ताले खरिद गरिरहेका छन् । ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह्याचिङ अण्डा मंसिर २९ देखि पुस ६ सम्म नष्ट गर्ने निर्णय गरेको थियो । उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए । त्यसलगत्तै बजारमा कुखुराको मासु महँगिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>