Uncategorized

बल्ल उठ्दै नोर्बुलिङ

Banner

नारायण ढुङ्गाना

नोर्बुलिङ (हेलम्बु),  पुस  ८-

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङमा दुई वर्ष अघि नै भूकम्पले भत्काएको बस्ती ठड्याउने योजना थियो । त्यो बेला जग्गा खारेर तयारी गरे पनि रकमको जोहो गर्ने कयौँ प्रयास असफल हुँदा योजना त्यसै तुहियो ।

जिल्लाका विभिन्न क्षेत्रमा दाताले घर बनाइदिएको सुनेका यहाँका लाभग्राहीले कुनै दाता पाइहालिन्छ कि भनेर बाटो कुर्न भने छाडेनन् । पटकपटक ताकेता पनि भयो । चरोमुसो नआएपछि नयाँ घर बनाएर बस्ने उनीहरुको सपना पर धकेलियो । उनीहरुले प्रयास रोकेनन् । सहयोगका हात फैलाइरहे । पहाडको टुप्पोमा रहेको बस्तीको आवाज पहाडमै ठोक्किएर विलायो । कहीँबाट सहयोग जुटेन । हुन पनि सदरमुकाम चौताराबाट पश्चिममा पर्ने यो बस्ती निकै विकटमा छ । चौताराबाट तीन घण्टामा मेलम्ची पुगिन्छ । त्यसपछि मेलम्ची–तिम्बुु शेर्माथाङ सडक हुँदै यहाँ पुगिन्छ । विकटमा जो कोही हत्तपत्त पुग्दैनन् ।

प्रयासले साकार रुप नलिएपछि ऋण खोजेरै बस्ती उठाउन लाभग्राही आफैँ कम्मर कसे । “सहयोग खोज्दाखोज्दै वर्ष बित्यो, कति रोइकराइ गर्नु, ऋण खोजेरै भए पनि घर उठाउँ भनेर काम थाल्यौँ”, नोर्बुलिङ एकीकृत बस्ती विकास समितिका सहसचिव जीवन लामाले बताए । सङ्घसंस्थाको सहयोग पाएको जिल्लाको गिरानचौर, झ्याडीको माझी बस्ती र सेलाङको तामाङ एकीकृत बस्ती पुरानो भइसक्यो । दाता नपाएका यस्ता बस्ती अझै पुनःनिर्माणको चरणमा छ ।

जनधनको ठूलो क्षति हुने गरी मुलुकमा पछिल्लो पटक भूकम्प गएको साढे चार वर्षपछि भत्किएको नोर्बुलिङ, बल्ल उठ्दैछ । नजिकका अन्य बस्ती पनि यसैगरी उठ्ने चरणमा छन् । बस्ती नबन्दासम्म उनीहरु अस्थायी टहरामै बस्न बाध्य छन् । स्थानीयको आफ्नै प्रयासले छोटो समयमै धेरै घर निर्माणको अन्तिम चरणमा पुगेको छ, केही आधाआधी बनेको छ भने केही जग खन्ने चरणमा छन् ।

गत भदौ ११ गतेबाट नोर्बुलिङ एकीकृत बस्तीमा निर्माणको काम थालिएको थियो । जसले जे काम जानेको छ, उसले त्यही गर्ने गरी कामको बाँडफाँट भयो । डकर्मी दिलबहादुर सुनार र कृष्ण थापालगायत गाह्रो लगाउन खटिए । हीरालाल मगर तलबाट ढुङ्गा दिन थाले । बालुवा र गिट्टी ओसार्ने र घोल्ने अलगअलग समूह बन्यो । ढुङ्गा फोर्ने र ओसार्न समूह अर्कै खडा भयो । फलामलाई निश्चित आकारमा ढाल्ने काममा पनि छुट्टै समूहले जिम्मा पाए । यन्त्र नै प्रयोग गरेर दुई जना ढुङ्गा काट्न खटिए । यो दैनिकी अहिले पनि जारी नै छ । बस्ती पुग्दा गाउँले बस्ती ठड्याउन रातदिन नभनी लागिरहेका थिए ।

स्थानीयको जागरुकताले चार महिना नसकिँदै बस्तीमा नसोचेको प्रगति छ । झ्याल ढोकामा काठ प्रयोग गरेर ढुङ्गा, माटोको गाह्रो र सिमेन्टको जडान गरी घर बनाइएको छ । घरमा शौचालय र अन्य तीन कोठा छ । “बाहिरबाट मान्छे ल्यायो वर्षौं काम सकिँदैन, त्यसैले आफैँ काम गर्दैछौँ, स्थानीय पाराकै घर बनाइरहेका छौँ”, स्थानीय नोर्बु लामाले भने ।

यहाँको एकीकृत बस्तीका लागि पुनःनिर्माण प्राधिकरणबाट आउने तीनलाख मात्रै प्रमुख आधार हो । त्यो पनि अहिलेसम्म पहिलो किस्ता मात्रै पूरा प्राप्त भएको छ । यहाँका ३१ घरमध्ये दोस्रो किस्ता जम्मा नौ घरले मात्रै पाएको छ । अन्यको प्रक्रियामा छ ।

शुरुमा ४० घर बस्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको थियो । रातो कार्ड प्राप्त रु तीन लाख पाउने ३१ घर छ । नौ घरले गुनासो गरे पनि अहिलेसम्म कुनै निर्णय भएको छैन । कूल १८ रोपनी क्षेत्रफलभित्र हरेक घर छ आनामा बन्दैछ । लाभग्राहीले गोला प्रथाद्वारा घर रोजेका छन् । दलित समुदायको रोजाइअनुसार पाँच घर पुछारमा दिइएको छ ।

निर्माण सम्पन्न हुँदा झण्डै रु १३ लाख लाग्ने अनुमान गरिएको नोर्बुलिङ एकीकृत बस्ती विकास समितिका सहसचिव जीवन लामाले बताए । सरकारको रु तीन लाख र गाउँमै पाइने ढुङ्गा, माटो र श्रमदानको हिसाब नगरे पनि लाखौँ ऋणको भारी बोक्दैछन् उनीहरु । प्रभावित ऋणको बोझ कम गर्न धेरै काम आफैंँले गरिरहेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ सिन्धुपाल्चोकका असिष्टेन्ट शव इञ्जिनीयर मिलन ढुङ्गाना खर्कडाँडाको नोर्बुलिङ एकीकृत बस्तीमा जोखिम भनेर पहिचान गरिएको गिजेको ११ घर पनि समावेश रहेको बताए । छिमेक गाउँ खर्क, कोलामा, च्युगाञ्चे, पासासाका भूकम्प प्रभावित पनि एकीकृत बस्तीमा ल्याइएको उनले बताए ।

आगामी माघसम्ममा सक्ने योजना उनीहरुको छ । गएको भदौ ११ गतेबाट बस्तीको काम थालिएको हो । बस्तीका लागि जग्गा प्लटिङ भने दुई वर्ष अघि नै गरिएको थियो । सरकारको रु तीन लाख र श्रमदानबाहेक बाँकी ऋणमा घर बनिरहेको छ । प्रति घर एक जना अनिवार्य श्रम गर्नुपर्छ ।

दुईवर्ष अघि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० का लागि सामुदायिक आत्मनिर्भर केन्द्रले रु दुई लाख दिएको थियो । जोखिम बस्तीबाट आएका व्यक्तिलाई सरकारले दिनुपर्ने रु दुई लाखसमेत नपाएको गुनासो उनीहरुले गरेका छन् । डकर्मी दिलबहादुर सुनारले ६० दिन काम गरेर कमाएको रु ६० हजार घरकै लागि लगानी गरेको बताए । घर सरेपछि जमिन लिएर सामूहिक आयआर्जन कार्यक्रम सञ्चालन गर्ने सोच उनीहरुको छ ।

नेपालको सबैभन्दा बढी लाभग्राही भएको जिल्ला सिन्धुपाल्चोक हो । जिल्लामा ८८ हजार लाभग्राहीमा ८६ हजारले पहिलो किस्ता लिइसकेका छन् । कूल ९५ प्रतिशतले दोस्रो किस्ता लिइसकेको छन् । जिल्लामा ७७ हजारले तेस्रो किस्ता लिएको र समग्रमा ९० प्रतिशत पुनःनिर्माणको काम सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० सिन्धुपाल्चोकका प्रमुुख सन्तोष निरौलाले बताए । उनका अनुसार जिल्लाका विभिन्न ३० ठाउँमा एकीकृत बस्ती निर्माण शुरु भएकोमा केही निर्माण सम्पन्न भएको केही निर्माणको चरणमा छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>