गण्डकी

बन्दीपुर केबुलकारको स्टेशनमा चारतारे होटल

Banner

दमौली, पुस ५–

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकारको माथिल्लो स्टेशनमा स्तरीय होटल निर्माणका लागि सम्झौता भएको छ । होटल निर्माणका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले काठमाडौँस्थित चन्द्र निर्माण सेवासँग सम्झौता गरेको हो ।

२५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। चारतारे होटल निर्माणका लागि रु ८० करोड लाग्ने अनुमान गरिएको छ । कलात्मक शैलीमा निर्माण गरिने होटलको कामलाई केही दिनभित्रै शुरु गरिने शर्माले जानकारी दिए ।

उक्त होटल निर्माणका लागि नेपाल एसबिआइ बैंकसँग ऋण सम्झौतासमेत भइसकेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट व्यावसायिक प्रमुख विनोद ढुङ्गेल र कम्पनीको तर्फबाट शर्माले हस्ताक्षर गर्नुभएको छ । केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ ।

केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्राली, पन्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीय बासिन्दाको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ । लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दाबढी लगानीकर्ता रहेका छन् ।

केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । उक्त भवनमा आधुनिक भ्यु टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने शर्माले जानकारी दिनुभयो । “होटल निर्माणका लागि सम्झौता भएकाले अब यसलाई निर्माणको चरणमा लैजान्छौँ”, शर्माले भने।

केबुलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको बटम स्टेशन भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ ।

“केबुलकार एक वर्षभित्रै सञ्चालनमा आउनेछ, अन्य संरचना पनि साढे दुई वर्षभित्र सक्ने लक्ष्यसहित काम थालेका छौँ”, उनले भने । प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जना भन्दाबढी स्थानीयवासीले शेयर हालिसकेका छन् । केबुलकार निर्माणका लागि बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर लगानी गरेको छ । “परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्नका लागि निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ”, उनले भने ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करीब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बक्सा रहनेछ । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>