कृषि

लमजुङमा धान उत्पादन बढ्यो

Banner

– जनक श्रेष्ठ

जिल्लामा धान उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । उचित सिँचाइको व्यवस्था, समयमा पानी पर्नाका साथै उन्नत जातका बीउ प्रयोगसँगै धान उत्पादनमा वृद्धि भएको हो ।

सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले करिब ३० रोपनी क्षेत्रफलमा उन्नत जातको धानखेती गरेर यस वर्ष ८० मुरी धान उत्पादन गर्नुभयो । गत वर्ष सोही क्षेत्रफलमै धान खेती गर्दा जम्मा ५० मुरी उत्पादन भए पनि यस वर्ष उत्पादनमा वृद्धि भएको उनले बताए । सोही क्षेत्रका किसान कृष्णप्रसाद अधिकारीले आठ रोपनी क्षेत्रफलमा उन्नत जातको धान खेती गरे । गत वर्ष १६ मुरी मात्रै धान उत्पादन भए पनि यस वर्ष १४ मुरी वृद्धि भएर ३० मुरी धान उत्पादन भएको उनको भनाइ छ ।

यस वर्ष जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धान खेतीबाट ४४ हजार १५५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनले भने, ‘गत वर्षभन्दा धान खेती गरेको क्षेत्रफल घटे पनि यस वर्ष तुलात्मकरुपमा उत्पादन वृद्धि भएको छ ।’ गत वर्षभन्दा ५६१ हेक्टर क्षेत्रफलमा धान खेती कम लगाइएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

जनशक्ति कम, पानी कम पर्नु, जग्गा जमीन बाँझो राख्नेलगायतका कारणले धान खेती कम क्षेत्रफलमा भएको कार्यालयका अर्थविज्ञ रेग्मीको भनाइ छ । कार्यालयका अनुसार आव २०७४÷७५ मा १४ हजार ७९१ हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतीबाट ४४ हजार ५४५ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यस्तै, आव २०७३÷७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफल जमिनमा गरिएको धान खेतीबाट ४३ हजार ८३० मेट्रिक टन उत्पादन भएको थियो । आव २०७२÷७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ४० हजार ५७८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उन्नत जातको धानको बीउ प्रयोग, सिँचाइको सुविधा, आधुनिक कृषि प्रणालीका सामग्री प्रयोग, सिँचाइ योजना सञ्चालन हुनु, समयमै पानी पर्नुलगायतका कारण धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लाका ठुल्ठूला फाँट अलैँचेफाँट, भोर्लेटार, भोटेवडार, चक्रतीर्थ, धमिलीकुवा, साइलीटार, अल्काटारमा धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।

जिल्लामा सावित्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् । पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाइने गरिएको किसान बताउँछन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमीनमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ । जिल्लाका बासिन्दा अधिकांश कृषि पेशामा नै आवद्ध छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>