नवलपुर

देवचुलीका विद्यार्थीलाई न्यानो कपडा वितरण

Banner

देवचुली, पुस २-

देवचुली नगरपालिका–१६ स्थित जनता प्रभात आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको छ ।

युवा अभियन्ताले सामाजिक सञ्जालद्वारा विभिन्न व्यक्तिहरुको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो । नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ५ सम्मका ८५ जना विद्यार्थीलाई एक विद्यार्थी एक स्विटर र टोपी माया उपहारस्वरूप प्रदान गरिएको युवा अभियन्ता दीपक शर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले नगरपालिकाको विकट गाउँमा रहेको विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने बताइन् । जाडो बढेसँगै बालबालिकालाई न्यानो स्विटर र टोपीले निरन्तर विद्यालय आउन मद्दत पुग्ने उनले बताइन् । देवचुली नगरपालिकाको तर्फबाट सो ठाउँमा विद्युत् लाइन सुचारुको लागि आफू लागि परेको बताउँदै पुस महिनाभित्र उक्त ठाउँमा बिजुली आइपुग्ने उपप्रमुख तिवारीले बताइन् ।

कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली–१६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले युवाहरुको पहलमा यस्तो कार्य र अभियानले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खालको कार्यको निरन्तरताको अपेक्षासँगै शुभकामना भनाइ व्यक्त गरेका थिए । युवा अभियन्ता विश्वास लामिछानेले जाडोमा न्यानो कपडाको अभावले विद्यालय आउनै अप्ठ्यारो साथै पठनपाठनमा प्रभाव परेकोले सामाजिक सञ्जालमा हरेक वर्ष न्यानो अभियान सञ्चालन गर्दै नवलपुरको पहाडी गाउँका बालबालिकालाई न्यानो कपडा प्रदान गरिरहेको बताउँदै यस वर्ष पनि अभियान सञ्चालन गरिएको र सो अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली नगरपालिका वडा नं १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री विद्यालयका प्रधानाध्यापक शालिग्राम भट्टराई, वडा सदस्य, युवा अभियन्ता, अभिभावकको उपस्थिति रहेको थियो । अभियानको संयोजन युवा अभियन्ता राजु चापागाईंले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>