चितवन विशेष
महिला उद्यमी मञ्च चितवनद्वारा महिला बन्दीलाई सिपमूलक तालिम

चितवन, पुस १-
चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा चितवन कारागारमा रहेका महिला बन्दीलाई सिपमूलक तालिम प्रदान गरिएको छ ।
महिला उद्यमी मञ्च संयोजक सुधा सुवेदी पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा महिला उद्यमी मञ्चकी निर्देशकहरु पार्वती कुँवर, सुमित्रा दाहालसमेतको उपस्थिति रहेको थियो । तालिमलाई नमिता प्रधानले प्रशिक्षण दिएकी थिइन् । तालिममा १९ जना बन्दी महिलाहरु सहभागी रहेका थिए । तालिममा जाडोमा प्रयोग हुने स्विटर, मोजा, टोपीलगायतका कपडाहरुको लागि आवश्यक सामग्रीसहित प्रदान गरिएको थियो ।
तालिममा सिकेका सिपबाट तयार गरिएका सामग्रीलाई बजारमा बिक्रीको लागि समेत सहयोग पुर्याउने र सो कार्यबाट महिला बन्दीलाई आयआर्जनमा समेत टेवा पुग्ने महिला उद्यमी मञ्चकी संयोजक पौडेलले बताइन् । मंसिर २५ गतेदेखि सञ्चालन भएको उक्त तालिम पुस १ गतेसम्म सञ्चालन भएको थियो ।