राजनीति

आज प्रजातन्त्र अपदस्त भएको दिन

Banner

काठमाडौँ पुस १-

नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गर्नुभएको थियो ।

काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको थापाथलीस्थित सम्मेलनमा सहभागी भएका बेला उहाँहरुलाई गिरफ्तार गरिएको थियो । प्रधानमन्त्री बिपीले सम्मेलनको उद्घाटन गरी सम्बोधन गर्ने पालो थियो, ठीक त्यही बेला सैनिक उच्च अधिकारी समरराज कुँवर र सुरेन्द्रबहादुर शाह नेतृत्वको सेनाको टोलीले बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्रलगायतलाई गिरफ्तार गरेको थियो ।

उहाँहरुलाई शुरुमा सिंहदरबारमा र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बिपीले धेरै साहित्यको रचना गर्नुभएको थियो।

बिपी प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै राजालाई मन नपरेको काँग्रेस नेता एवं इतिहासकार पुरुषोत्तम बस्नेत बताउनुहुन्छ । दरबारले तत्कालीन सरकारलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा काम गर्न बाधा पु¥याउँदै आएकाले राजा र प्रधानमन्त्रीबीच सम्बन्ध बिग्रँदै गएको उहाँ स्मरण गर्नुहुन्छ । काँग्रेस नेतृत्वको सरकारलाई असफल बनाउन दरबारबाट विभिन्न काण्ड गराइएको थियो । यही परिस्थितिको उत्कर्षका रुपमा २०१७ साल पुस १ गतेको घटना भएकोे थियो ।

इतिहासकार बस्नेत भन्नुहुन्छ, “स्थिर प्रजातन्त्रान्त्रिक शासन व्यवस्था र विकास निर्माणको द्रुत गतिमा अघि बढेको मुलुक यस घटनापछि विपरीत दिशामा गयो । विकास निर्माण र समाज परिवर्तनका कार्य अवरुद्ध भए, वृद्धि हँुदै गएको विदेशी सहयोग पनि प्रभावित भयो ।” दलहरुमाथि प्रतिबन्धपछि अधिकांश नेताहरु कि जेलमा कि निर्वासनमा जान बाध्य हुनुप¥यो ।

त्यसपछि प्रजातन्त्र पुनःस्थापनाका लागि पटकपटक हिंसात्मक–अहिंसात्मक आन्दोलन, जनमतसङ्ग्रह, सत्याग्रह आदि भयो । अन्ततः काँग्रेसको नेतृत्वमा २०४६ सालको जनआन्दोलन सफल भयो र तीन दशकपछि मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>