नवलपुर

कावासोती नगरपालिकाका दुई वडा कार्यालय एकै दिन उद्घाटन

Banner

ज्ञानु पंगेनी,

नवलपुर मंसिर २९-

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकाका दुई वटा वडा कार्यालय शनिबार औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । वडा नम्बर ९ र वडा नम्बर १५ को वडा कार्यालय शनिबार उद्घाटन गरिएको हो । वडा नम्बर १५ को कार्यालय संघीय सांसद तिलक महतले उद्घाटन गरे । यस्तै वडा नम्बर ९ को प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले उद्घाटन गरे ।

कावासोती ९ को नयाँ बस्तीमा वडा कार्यालय स्थापनाका लागि स्थानीय समाजसेवी टंकप्रसाद लुईटेल र मन कुमारी शर्मा बस्यालले दुई कठ्ठा तीन धुर जग्गा दान गरेका थिए । जग्गा दाता र उनका परिवारलाई उद्घाटन कार्यक्रममा दोसल्लाले सम्मान समेत गरिएको थियो । वडा कार्यालय भवन ८० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको कावासोती नगरपालिकाका आर्किटेक ईन्जिनीयर पवन रुपाखेतीले जानकारी दिए ।

कावासोतीको ९ र १५ दुवै वडा आर. एन. आर. सिभिल कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । यसै वर्षको पुस मसान्तभित्र सम्पन्न गर्नेगरि सम्झौता रहेको भए पनि एक महिना पहिले नै निर्माण कम्पनीले वडा कार्यालय भवन सम्पन्न गरेको रुपाखेतीले जानकारी दिए । यस्तै वडा नम्बर १५ को कार्यालय सारसटोलमा रहेको पाँच कठ्ठा सार्वजनिक जग्गामा निर्माण गरिएको हो ।

यस वडा कार्यालय ७८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडा नम्बर १५ का वडा अध्यक्ष देव नारायण महतोले जानकारी दिए । वडा कार्यालय भवन निर्माणका लागि कावासोती नगरपालिकाले बजेट प्रदान गरेको थियो । वडा नम्बर १५ को कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सासंद तिलक महतले सुकुम्बासी र भूमिहीन जनताको समस्या समाधान गर्न सरकारले काम अगाडि बढाएको बताएका थिए ।

मध्यवर्ती क्षेत्र आसपासका बासिन्दा र जङ्गली जनावारबीचको द्वन्द्व न्यूनिकरणका लागि समेत सरकारले लगानी गरेको बताएका थिए । अहिलेको सरकारले देश विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेकाले सोही अनुसार विकासका कामहरु अगाडि बढिरहेको महतको भनाइ थियो ।

यस्तै वडा नम्बर ९ को वडा कार्यालय भवन उद्घाटनमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले जनताले गणतन्त्र वास्तवमै आएको अनुभूति गर्नका लागि जनप्रतिनिधि र कर्मचारीले नागरिकका हरेक समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । कार्यालय भवन मात्रै बनेर नहुने भन्दै गाहाले कार्यालयबाट प्रवाह हुने सेवा सुविधा समेत चुस्त दुरुस्त हुन आवश्यक रहेको बताए । उनले नागरिकले गुनासो गर्ने काम कुनै पनि जनप्रतिनिधि र कर्मचारीले गर्न नहुने समेत बताएका थिए ।

कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुन, उपप्रमुख प्रेम शंकर मर्दनिया थारु, प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडा अध्यक्षहरु, वडा सदस्यहरु र स्थानीय समाजसेवी बुद्धिजीवी तथा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>