चितवन विशेष

आजदेखि १० दिन कुखुराको चल्ला उत्पादन बन्द,३३ करोड बढी नोक्सान हुने

Banner

भरतपुर,मंसिर २९-

लागत भन्दा कममा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि पोल्ट्री उद्योग सङ्कटमा परेको छ । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि किसान र व्यवसायी मारमा परेका छन् ।

उत्पादन लागतअनुसारको मूल्य नपाउँदा पोल्ट्री व्यवसायमा ठूलो नोक्सान बेहोर्नुपरेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । ह्याचरी उद्यमीको शुक्रबार चितवनमा भएको राष्ट्रिय भेलाले आज आइतबारदेखि अर्को मंगलबार १० दिनसम्म चल्ला उत्पादन र बिक्री वितरण नगर्ने निर्णय गरेको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रिय अध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए ।

१० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उनले बताए । १० दिन चल्ला बिक्री बन्द हुनेवित्तिकै कुखुरा उत्पादन कम हुनेछ । ब्रोइलर र लेयर्स गरी देशभर हप्तामा ४५ लाख चल्ला उत्पादन हुन्छ ।

निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य रु ५५ का दरले रु ३३ करोडभन्दा बढी नोक्सान हुने बताए । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला रु २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए ।

नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाई छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।

ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए । हाल कृषककोबाट जिउँदो कुखुरा रु १२० देखि १३० प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य रु २६० हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो रु ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना रु ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा रु एक खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उनको भनाई छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरूमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६÷०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ । उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरूमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् ।

माग भन्दा आपूर्ति बढी भएपछि अहिले किसानले बोइलर जिउँदो किलोको रु १ सय ५० र अण्डा प्रति गोटा रु ८ मा बिक्री गरिरहेका छन् । चितवन रत्ननगरमा कुखुरा पालिरहेका शिवहरि भण्डारीका अनुसार अहिले डेढ सय किलोमा कुखुरा बेच्दा लागत पनि उठ्दैन ।

‘चितवनमा पछिल्लो तीनरचार वर्षको अवधिमा कुखुरा पालनको लहरनै चल्यो । प्रत्येक गाउँमा एक हजार कुखुरापाल्ने युवाहरुको समूहनै थियो’ उनले भने, ‘कुखुरा र अण्डा माग भन्दा धेरै उत्पादन भए । दानाको भाउ बढ्दा किसानको लागत पनि बढ्यो । त्यसपछि किसानले लागत पनि नउठाई कुखुरा र अण्डा बिक्री गर्न बाध्य भए । अहिले हजार वटा कुखुरा पाल्ने ऋणको भूमरीमा परेका छन् ।’

पहिले ५० रुपैयाँ प्रतिकिलो पर्ने कुखुराको दाना अहिले ५५ देखि ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । अहिले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य थोक दुई सय ८० र खुद्रा तीन सय रुपैयाँ प्रतिकिलो छ । अहिले सानो तहमा कुखुरा पालेका किसान ऋणसँगै पलायनको क्रम समेत बढेको छ ।

पोल्ट्री क्षेत्रमा भएको ८० अर्ब रुपैयाँ हाराहारीको लगानीमध्ये करिब आधा लगानी चितवनमा भएको छ । आत्मनिर्भर मानिएको पोल्ट्री क्षेत्र तहसनहस हुने बित्तिकै समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने सम्भावना देखिन्छ ।

पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ । देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशत योगदान रहेको पोल्ट्रीमा देश आत्मनिर्भर मानिएपनि औषधि र कच्चापदार्थको लागि भारतको भर पर्नुपर्ने अवस्था विद्यमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>