चितवन विशेष
चितवन मेडिकल कलेजले भन्यो : विद्यार्थीको असहयोगले शुल्क समायोजनमा समस्या

चितवन, मंसिर २८-
चितवन मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्क समायोजन विवादलाई टुंग्याउन कलेजले प्रयास गरे पनि विद्यार्थीको असहयोगको कारणले समस्या भएको जनाएको छ ।
कलेजले आज प्रेषित गरेको विज्ञप्ति अनुसार शिक्षा मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्वयन गर्न कलेज प्रतिबद्ध रहे पनि विद्यार्थीको असहयोगका कारणले शुल्क समायोजनको मुद्दालाई विश्वासको वातावरणमा टुुंग्याउन समस्या भएको जनाएको छ । कलेजमा तालाबन्दी गर्ने, परीक्षा बहिष्कार गर्ने, धम्काउने जस्ता क्रियाकलाप विद्यार्थीबाट हुँदा शुल्क समायोजनको प्रक्रिया अघि बढ्न सक्ने अवस्था नरहेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा कलेजले भनेको छ, ‘सरकार हाम्रो अभिभावक भएकोले उसले दिने निर्देशन, गर्ने नियमन र सहमति भन्दा बाहिर जान सक्ने कुरा भएन । यो तथ्यलाई आत्मसाथ गरी नियमित शैक्षिक क्रियाकलापमा सहभागी भई शैक्षिक, प्रशासनिक र प्राज्ञिक कार्य सञ्चालनमा सहयोग गर्न अपिल गर्दछौ ।’ साथै कलेजले विज्ञप्तिमा विद्यार्थीलाई आन्दोलनमा नरमाउन, समयको ख्याल गरि परीक्षामा सहभागी भई नियमित पठनपाठनमा पर्किन अनुरोध पनि गरेको छ ।
कलेजले विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क पहिलो किस्ताको शुल्कमा, त्रिवि.रजिष्ट्रेसन शुल्क, काउन्सिल रजिष्ट्रेसन शुल्क, सम्बन्धित निकायले तोके बमोजिमको रकमसमेत जोडेर अन्य बाँकी हुन आउने रकम आगामी किस्तामा समायोजन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
कलेजले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलापहरु सुचारु गराउन सहयोग गर्न, विश्वविद्यालयका नियमित परीक्षाहरुमा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजनको प्रक्रियालाई सहयोग गर्न सबैसँग अनुरोध पनि गरेको छ ।