चितवन विशेष

देवघाटमा रातको समयमा बालुवा तस्करी, चार ट्याक्टरलाई प्रहरीको कारबाही

Banner

देवघाट, मंसिर २५-

देवघाट गाउँपालिका–५ को भुवनटार घाटबाट बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा आइतबार प्रहरीले चार ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

बिहान चार बजे प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले ती ट्याक्टरलाई नियन्त्रणमा लिएका हुन् । गाउँपालिकाले गिट्टी बालुवाको उत्खनन् गर्ने टेण्डर नखुलाउँदै स्थानीय व्यवसायी हरिबहादुर कुँवरको नेतृत्वमा रातारात बालुवाको तस्करी गरिएको स्थानीयले बताएका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गिट्टी, बालुवाको उत्खनन्सम्बन्धी सूचना प्रकाशन गरिए पनि त्यो टेन्डर सार्वजानिक नभएको अवस्थामा रातारात बालुवा तस्कर भएको बताए । उनले बालुवा तस्कर गर्दै गरेको अवस्थामा चार ट्याक्टरलाई नियन्त्रणमा लिई एक रात प्रहरी हिरासतमा राखी प्रति ट्याक्टर दस हजार रुपैयाँ जरिवाना तिराइएको जानकारी दिए ।

आगामी दिनमा यसरी अवैधरुपमा उत्खनन् गरेको भेटिएमा थप कडा कारबाही गर्ने शर्तमा ती ट्याक्टर छाडिएको उनले जानकारी दिए । भुवनटार स्थित त्रिशूली नदीको किनारको घाटमा बालुवा तस्करी भइरहेको बारेमा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय देवघाटबाट असई देवबहादुर बानियाको नेतृत्वमा देवघाट गाउँपालिकाका नगर प्रहरीसहित आठ जनाको टोलीले बालुवा तस्करीमा प्रयोग भइरहेको चार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए ।

सो घाटबाट यसअघि पनि पटकपटक रातिको समयमा गिट्टीबालुवाको तस्करी हुँदै आएको स्थानीय बासिन्दाहरुले बताएका छन् । देवघाट वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले यसअघि पनि पटक पटक बालुवाको तस्करी हुने गरेको सूचना प्राप्त भएको भन्दै अब भने सबै घाटहरुमा कडाइ गरिने बताए । टेन्डर प्रक्रिया पूरा नहुँदै यसरी नदीका घाटबाट अवैध उत्खनन् हुँदा देवघाट गाउँपालिकालाई ठूलो राजस्व रकम घाटा लाग्ने हुँदा स्थानीय बासिन्दाले पनि यस्तो गैरकानुनी काम नियन्त्रण गर्न सहयोग गर्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>