चितवन विशेष
भरतपुर विमानस्थल आजदेखि नियमित,मर्मतपछि यस्तो देखियो (तस्वीर)

कृष्ण आचार्य,
भरतपुर, मंसिर २५-
१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि नियमित भएको छ । धावनमार्ग र पार्किङ क्षेत्र मर्मत सम्हारका लागि मङ्सिर १५ गतेदेखि बन्द विमानस्थल आजदेखि नियमित भएको हो ।
नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ पूर्ण मर्मतसम्हार र ओभरले गरिएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर विमानस्थल मर्मत गरिएको उहाँले बताउनुभयो । ‘करीव १२ सय मिटरको धावन मार्गमा ओभरले गरेका छौं, गौतमले भन्नुभयो,पार्किङ पनि सुविधायुक्त भएको छ ।’ उहाँले बाँकी निर्माणका काम भ्रमण बर्ष सुरुहुनु अघिनै सम्पन्न गरिने जानकारी दिनुभयो । झण्डै २० वर्षपछि विमानस्थलको धावनमार्गमा ओभरले गरिएको उहाँले बताउनुभयो । ‘मर्मत सम्हारपछि विमानस्थलमा धेरैनै सहज हुने भयो,उहाँले भन्नुभयो,कम्तिमा १० बर्षका लागि ढुक्क भयो ।’
विमानस्थल ओभर ले गर्दा ६० एमएमको पिच गरिएको छ । ७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाइएको छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि करिब १० करोडको ठेक्का सम्झौता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ज्योती थापाले जानकारी दिनुभयो । उहाँले विमानस्थलको मुख्य काम सम्पन्न भएको भन्दै बाँकी काम पनि छिट्टै सम्पन्न गरिने बताउनुभयो । मर्मतसम्हारको जिम्मा गौरी पार्वती–मृत संजिवनी जेभीले लिएको छ ।
यस्तै विमानस्थल प्रवेशद्वार अगाडि ठूलो अक्षरमा भ्रमण बर्षको लोगो निर्माण गरिएको छ भने नौ वटा झण्डा फहराइएको छ । ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यती र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदैं आएका छन् । मन्त्रालय स्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ ।