राजनीति
मंसिर २९ गते नेकपाको स्थायी कमिटी बैठक

काठमाडौं मंसिर २३
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी मंसिर २९ गतेदेखि बस्ने भएको छ। आज बसेको सचिवालय बैठकमा सो निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठक २९ गते ११ बजेबाट शुरु हुने श्रेष्ठले बताए। पार्टीको स्थायी कमिटी बैठक २ दिनसम्म चल्ने उनको भनाइ छ।
अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका स्थानको कमिटीलाई २२ गतेभित्र समीक्षा रिपोर्ट पठाउन भनेपनि सबै ठाउँबाट नआएकाले ५ दिनभित्र रिपोर्ट पठाउन निर्देशन दिएको थियो। त्यस्तै केन्द्रीय सल्लाहकार कमिटी, जेष्ठ कम्युनिस्ट मञ्च, निर्वाचन आयोग लगायतका प्रमुख उपप्रमुखहरुको पूर्णताका लागि ७ दिनभित्र महासचिवमार्फत पठाउने निर्णय भएको थियो।
साथै पार्टीको कर्णाली प्रदेश सचिवबाट माया प्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरी यथावत काममा फर्कन निर्देशन समेत दिएको थियो। अर्को सचिवालय बैठक २७ गते बस्ने बताइएको छ।