चितवन विशेष

कृषि विश्वविद्यालयको प्रवेश परीक्षा शुल्क पाँच हजार, विद्यार्थी आन्दोलित

Banner

चितवन, मंसिर २०–

जहिल्यै विवाद हुँदै आइरहेको चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय फेरि विवादमा तानिएको छ ।

विश्वविद्यालयको कृषि संकायले प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेपछि विरोधमा विद्यार्थी आन्दोलित भएका छन्। कृषि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ढाड सेक्ने गरी प्रवेश परीक्षा शुल्क बढाएको विद्यार्थीहरुको आरोप छ । उनीहरुले तत्काल शुल्क घटाउन माग गरेका छन् । कृषि संकायले आइतबार सूचना प्रकाशन गरी प्रवेश परीक्षा शुल्क पाँच हजार तोकेको छ ।

सोही विरोधमा अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले शुक्रबार बिहानैदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय शितलचोकमा नारावाजी गरेका छन् ।

अनेरास्ववियूका अध्यक्ष सन्तोष खतिवडाले विद्यार्थीसँग अधिक पैसा उठाएर अपारदर्शी ढंगबाट खाने योजना अनुसार शुल्क बढाइएको आरोप लगाए ।अनेरास्ववियुका इकाइ अध्यक्ष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा शुल्क घटाउन मा गरिएको छ ।

विद्यार्थीले प्रवेश परीक्षा नै ५ हजार रुपैयाँ राखेर गरिब, जेहेन्दार विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप लगाएका छन् । विश्वविद्यालयमा कार्यालय सहायक परीक्षामा आवेदन शुल्क ८ सय, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १ हजार तथा सहप्राध्यापकको आवेदन शुल्क १७ सय ५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीको आवेदन शुल्क ५ हजार तोकेर विद्यार्थीमाथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीको भनाइ छ । तत्काल शुल्क नघटाए अझै कठोर कदम चाल्न बाध्य हुने संघसंगठनले चेतावनी दिएका छन् ।

कृषि संकायले संकाय रामपुर र ७ वटा आंगिक क्याम्पस तथा ७ वटा निजी सम्बन्धन प्राप्त कलेजमा स्नातक तह बिएस्सी एजीमा भर्ना खुल्ला गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>