चितवन विशेष

कन्या गुरुकुलमा हवन कुण्ड बनाउन ११ लाख दान

Banner

चितवन, मंसिर १९–

देवघाटको कन्या गुरुकुलमा हवन कुण्ड निर्माणका लागि एकै व्यक्तिले ११ लाख रुपैयाँभन्दा बढी रकम दान गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडका रामप्रसाद आचार्यले हवन कुण्ड निर्माणका लागि ११ लाख ११ हजार १११ रुपैयाँ दान गरेका हुन् । समावेशी कन्या गुरुकुल निर्माणका लागि भरतपुरमा आयोजित महायज्ञमा आचार्यसहित अन्य व्यक्तिले बिहीबार १९ लाख १८ हजार ७५९ रुपैयाँ दान गरेका छन् । सो महायज्ञमा गण्डकी प्रदेशकी सांसद पुष्पा केसीले एक लाख ११ हजार १११ रुपैयाँ तथा भरतपुर महानगरपालिका वडा नम्बर ४ का युवराज क्षेत्रीले एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका महायज्ञको आर्थिक समिति संयोजक चन्द्रलाल राजभण्डारीले बताए ।

बिहीबारसम्म सो महायज्ञमा एक करोड ६० लाख १८ हजार ७५९ रुपैयाँ रकम संकलन भएको राजभण्डारीले जानकारी दिए । सो महायज्ञमा दानवीरहरुलाई विभिन्न सम्मानपत्र सहित सम्मान समेत गरिएको छ । मङ्सिर २१ गतेसम्म सञ्चालन हुने महायज्ञबाट भएको आम्दानीले पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए ।

कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताए । पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ ।

महायज्ञ अवधिभर बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कयाणीबाट आशिर्वचन प्रदान हुने भइरहेको छ । चितवन, नवलपुर र तनहूँको सङ्गममा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा समावेशी कन्या गुरुकुल निर्माणका लागि भन्दै मङ्सिर १३ गतेदेखि भरतपुर १२ को पोखरेली टोलमा धनधान्याचल एवम् सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ ।

नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका बालिकाहरुलाई समेट्ने गरी गुरुकुल शिक्षा प्रदान गर्न ॐ शिवशक्ति कल्याणी केन्द्र भरतपुरको आयोजनामा महायज्ञ शुरु गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>