चितवन विशेष

‘अवसर पाए गर्न सक्छौँ’

Banner

नारायण अधिकारी

चितवन, मङ्सिर १७-

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आएका न्यून दृष्टियुक्त पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफैँ व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउछन । उनले विसं २०६० देखि भाडामा सटर लिएर व्यवसाय गर्दै आएको बताए ।

सानो व्यवसायबाट शुरु गरेका उनले अहिले त्यसलाई विस्तार गर्दै परिवारको पालनपोषण र शिक्षादीक्षा सहजरुपमा गर्दै आएका छन । छरछिमेकमा रहेका साङ्गको भन्दा सहज जीवनस्तर उनको चल्दै आएको छ । २८ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइरहँदा भरतपुरमा भेला भएका अपाङ्ता भएका व्यक्तिका प्रतिनिधिले आफ्नो धारणा सुनाउने क्रममा उनले भने, “राज्यले अवसर दिने भए अरु धेरै गर्न सकिन्छ ।”

भरतपुरको धर्मचोकका मनबहादुर पुनको एउटा खुट्टै चल्दैन तर उनले धर्मचोकमै प्रोभिजनल स्टोर सञ्चालन गर्दै आएका छन । उनले भने “अपाङ्गता भएको व्यक्ति भन्दैमा यसै बसेर हुँदैन । केही त गर्नै प¥यो । ग¥यो भने सकिन्छ ।” करिब २५ वर्ष अघि दुर्घटनामा परेपछि उनको एउटा खुट्टा चल्दैन । पुनले सात वर्षयता व्यवसाय गर्दै आएका छन । यही व्यवसायबाट उनको परिवार धानिएको छ । लगानी बढाउन नसक्दा सोचे जति प्रतिफल नपाएको गुनासो गर्दै उनले भने, “सबैले मुखले सहयोग गर्छु भन्छन् तर कसैले गर्दैनन् । अपाङ्गता भएकाले गर्न सक्दैन भन्ने धेरैको सोचाइ छ ।” सबैले आआफ्नो क्षमताअनुसार काम गर्नसक्ने भएकाले अपाङ्गता भएका व्यक्तिले पनि आत्मविश्वासका साथ काम गरेमा सफल हुने उनले बताए ।

माडी नगरपालिका–७ कल्याणपुरका यमनाथ सुवेदीको पोलियो रोगका कारण एउटा खुट्टा चल्दैन तर उनी पनि यसै बस्नु हुन्न । उनी माडीकै जनकल्याण माविको सहायक प्रधानाध्यापक भएर काम गर्दै आएका छन । नेपाली र सामाजिक विषय अध्यापन गराउने उनले भने, “समाजको नजरमा मात्रै फरक हो । तर अपाङ्गता भएका व्यक्तिले सपाङ्गसरह काम गर्न सक्छन् ।”

समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै उनले अवसर पाएमा ध्यानचित्त लगाएर अपाङ्गता भएकाले काम गर्ने भएकाले सङ्गको भन्दा प्रतिफल आउने सुवेदीले बताए। समाज र अभिभावकले अपाङ्गताको प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताउँदै उनले राज्यले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए ।

गोरखा घर भई भरतपुर महानगरपालिका–१६ मा एक प्राथमिक विद्यालयमा पढाउँदै आएकी लीला दवाडी आफुले सपाङ्गसरह पढाउन सक्ने बताउछिन । अपाङ्गमैत्री संरचना नहुँदा सबै ठाउँमा समस्या हुने गरेको भन्दै उनले सरकारी र सार्वजनिक निर्माण संरचना अपाङ्गतामैत्री हुनुपर्ने बताइन । सडकमा अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न अप्ठ्यारो हुने गरेको भन्दै उनले भनिन, “अपाङ्गतामैत्री सडक निर्माणमा राज्यले ध्यान दिनुपर्छ ।”

पछिल्ला वर्षहरुमा मुख्य शहरी क्षेत्रमा निर्माण हुने सडकमा अपाङ्गमैत्री बन्ने क्रम भने शुरु भएको छ । सरकारी कार्यालयमा पनि त्यस्तै संरचना बन्ने गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पछिल्ला वर्षहरुमा बन्ने संरचना अपाङ्गमैत्री बनाउने गरेको बताए । स्थानीय तहले उनीहरुको क्षमताअनुसारका अवसर दिनका लागि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । उनले भने , “राज्य अपाङ्गता भएकाको लागि अवसर प्रदान गर्न सकारात्मक रुपमा लागिपरेको छ ।”

सरकारले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्तासमेत दिँदै आएको छ । यद्यपि अवसरका कुरामा प्राथमिकतामा नपारिएको उनीहरुको गुनासो हुने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>