चितवन विशेष
चितवनमा निर्माणाधिन रंगशालामा पहिलोपटक क्रिकेट खेलियो

चितवन,मंसिर १३-
चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट म्याच आयोजना गरिएको छ । रामपुर कृषि क्याम्पसका दुई समूहबीच शुक्रबार भएको खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो । सो खेल हेर्न २० रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माण खर्च गरिने धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार आगामी दिनमा पनि रु १५ हजार शुल्क तिरेर यस ग्राउन्डमा जोकसैले च्यारिटी क्रिकेट खेल्न सक्नेछन् ।
शुक्रबार आयोजित खेलमा छैटौं ब्याचले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभरमा खेलमा छैटौं ब्याचले १ सय ४३ रनको स्कोर खडा गर्यो जसमा ससन्तोष चन्दले ४६ बलमा विष्फोटक ८० रन बनाएका थिए । तर, उक्त स्कोर पर्याप्त भएन । सातौं ब्याचले १६.३ ओभरमा नै लक्ष्य भेट्टाएको थियो । टिमका लागि आकाश कुुमार साहले २८ बलमा सर्वाधिक ४१ रन बनाएका थिए ।
धुर्मुस सुन्तली फाउन्डेसन जनसहयोग जुटाएर ३ अर्ब रुपैयाँको लागतमा यो रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । अहिले रंगशालाको प्रारम्भिक कामहरु भइरहेका छन् । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस केही दिनदेखि आफैं रंगशालामा खटिएका छन् ।