खेलकुद
साग पुरुष भलिबलः बंगलादेशसंग हार्यो नेपाल

काठमाडौं, मंसिर ११–
काठमाडौंमा आजदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गतको पुरुष भलिबलमा बंगलादेशसँग घरेलु टोली नेपाल पराजित भएको छ ।
रोमाञ्चक खेलमा दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा नेपाल पराजित हुन पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा नेपालले २५–२१ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा नेपालले ५ वटा सर्भिस बिगारेपछि २५–२३ ले गुमाएको थियो । तेस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । तर, अन्त्यमा नेपालले २६–२४ ले त्यो सेट गुमाएको थियो ।
पाँचौ सेटमा बंगलादेशले लगातार दवाव कायम राख्दै १५–१२ को जित दर्ता गर्न सफल रहयो ।
त्यसअघि महिलातर्फको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले २९–९,२५–९ र २५–११ ले विजयी भएको थियो ।