इच्छकामना

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पका प्रतियोगीले बाडे चेपाङ परिवारलाई कम्बल

Banner

चितवन, मंसिर ११–

बोल्ने कलासम्बन्धि आयोजित ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनलमा पुगेका १० जना प्रतियोगीहरुले चितवनको इच्छाकामना गाउँपालिका–२ तल्लो काउलेमा पुगेर विपन्न चेपाङ परिवारलाई कम्बल वितरण गरेका छन् ।

मंगलबार एक कार्यक्रमकाबीच श्री जनप्रिय मावि कल्याणटार, काउलेमा चेपाङ परिवारलाई कम्बल वितरण गरिएको हो । उनीहरुलाई टप टेनमा परेका विद्यार्थीहरुले पालैपालो कम्बल प्रदान गरेका थिए । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कम्बल उपलब्ध गराएपछि विद्यार्थीहरु पहाड चढेरै वितरण गर्न पुगेका थिए ।
प्रतियोगिताको आयोजक विमोचन इभेन्ट एण्ड इन्टरटेनमेण्टका प्रवन्धक विमोचन आचार्यले प्रतियोगीहरुलाई वास्तविक समाजको चित्र देखाउनका लागि यस्तो कार्यक्रम गरिएको बताए । उनले सुगम ठाउँमा बसेर अध्ययनरत विद्यार्थीहरुलाई आफ्नै जिल्लाको विकट अवस्था देख्दा समाजप्रति केही गर्नुपर्छ भन्ने भावना जागृत गराउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रतियोगिहरुलाई किताबी ज्ञान मात्र नभइ बाहिरी ज्ञान प्रदान गर्नका लागि एक्सपर्टले यस्तो कार्यक्रमलाई सहयोग गरेको बताए । उनले यस कार्यले विद्यार्थीहरुलाई ज्ञान बाड्नुको साथै विपन्न परिवारले केही राहत प्राप्त गरेको बताए ।
कम्बल वितरण गर्न पुगेकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी आर्या रेग्मीले विपन्न चेपाङ परिवारलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको बताइन् । उनले आफूले चितवनलाई सुगम जिल्लाको रुपमा मात्र देखेको भन्दै यहाँ पुग्दा वास्तविक अवस्था देखेको बताइन् ।

कम्बल लिनका लागि पहाडी भेगका नाइबेन्दी, भोटेगाउँ, हपनि, माझगाउले, तोरडाँडा, छाँपडाडालगायत गाउँबाट ५० घरपरिवारका चेपाङ महिला र पुरुषहरु आइपुगेका थिए । कम्बल पाउँदा उनीहरु दंग परेका थिए । छापडाँडाकी पुतली माया प्रजाले न्यानो कपडा नहुँदा जंगलको दाउरालो आगो बालेर बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । उनले कम्बलले थोरै भए पनि राहत मिलेको बताउँदै चिसोले समस्या पर्ने गरेको बताइन् । विमोचन इभेन्टले आयोजना गरेको प्रतियोगिताका टप टेन प्रतियोगिहरुले विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । चिसो बढेसंगै चितवनका पहाडी भेगमा बसोबास गर्ने चेपाङ समुदाय समस्या पर्न थालेका छन् । ओढ्नका लागि न्यानो कपडा नहुँदा चिसोमै रात काट्न बाध्य बनेका छन् । यही समस्यालाई मध्यनजर गर्दै प्रतियोगी उनीहरुलाई न्यानो पार्न कम्बल वितरण गरेका छन् ।

यसैबीच सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएको छ । दन्त परीक्षणका लागि चितवन डेन्टल होमले प्राविधिक सहयोग गरेको थियो । विद्यार्थीहरुको दाँतको डा.रिस्नु केसी, डा.सन्ध्या कँडेलको टिमले परीक्षण गरेको थियो । सो क्रममा केही विद्यार्थीहरुको किराले खाएको दाँत समेत निकालिएको डा. रिस्नु केसीले जानकारी दिए । यस्तै केहीलाई औषधि समेत प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा विद्यालयका प्राचार्य नेत्रबहादुर अधिकारीले विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गरिएकोमा आयोजक टिमलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामि दिनमा यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गरे । यस्तै सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि टप टेनमा पुगेका प्रतियोगीहरुले खेलकुदका सामग्री प्रदान गरेको थियो । प्रतियोगीहरुले विद्यालयका प्राचार्य अधिकारी, शिक्षक लोकबहादुर मगरलगायतलाई हस्तान्तरण गरेका थिए । यी सबै सहयोगका लागि सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले समेत सहयोग गरेको थियो ।

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ प्रतियोगिताको फाइनल अघि प्रतिस्पर्धीहरुलाई विभिन्न क्रियाकलापमा सहभागि गराउँदै आईएको छ । प्रतियोगिताको फाइनल यही मंसिर २० गते भरतपुरमा हुँदैछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>