चितवन विशेष
चितवनमा कांग्रेस कार्यकर्ता कुटिएको आरोप

चितवन, मंसिर १०
मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका क्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकतामाथि कुटपिट गरेको आरोप लागेको छ ।
खैरहनी नगरपालिका–४ चैनपुरमा सोमबार राति नेकपाका दिपक थापामगरसहितका कार्यकताहरुले ४५ वर्षीय टेकबहादुर परियारलाई कुटपिट गरेको घटनाप्रति नेपाल दलित संघ चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
दलितसंघ चितवनको अध्यक्ष शान्ति परियारद्वारा जारी विज्ञप्तिमा निर्वाचनको समयमा भएको यस घटनाले सिंगो दलित संघ मर्माहत भएको जनाइएको छ । देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी समालेको नेकपाको सरकार रहेको समयमा निर्वाचन लक्षित गर्दै यस्तो घटना हुनुले शान्ति अमनचयनको वातावरण बिग्रिएको र सत्ता एवम् शक्तिको आडमा निर्वाचन कव्जा गर्न खोजिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
निर्वाचनको समयमा दलित बस्तीमा पसी आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै दलित संघ चितवनले घाइतेको उपचार गरी सिंगो बस्तीको सुरक्षाको माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘राज्य सत्ताको उन्मादका कारण भएको यो घटनाका पिडकलाई कारबाही नगरे संघ सशक्त आन्दोलनमा उत्रने छ ।’ घाइते टेकबहादुर परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।