चितवन विशेष

चौथो कृषि यान्त्रीकरण प्रदर्शनी सकियो

Banner

चितवन, मंसिर ९–

चितवन प्रदर्शनी केन्द्र भरतपुरमा चार दिनसम्म चलेको चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६ सोमबारदेखि सकिएको छ । ‘कृषिमा रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ भएको प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रदर्शनीको एक कार्यक्रमकाबीच ३ नम्बर प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समापन गरे । प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु राखिएको थियो । ती यन्त्र उपकरणहरुको बारेमा कृषिसँग सरोकार राख्ने उपभोक्ताहरुलाई आवश्यक जानकारी प्रदान गरिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले बताए ।

हरेक दुई–दुई वर्षको अन्तरमा गरिने यस प्रदर्शनी २०७० सालमा चितवनबाट नै शुरु भएको थियो । २०७२ सालमा बाँके, कोहोलपुर, २०७४ सालमा काठमाण्डौ हुँदै पुनः चौथो प्रदर्शनीको रुपमा चितवनमा सम्पन्न गरिएको नेपाल कृषि मेशिनरी ब्यवसायी संघका महासचिव कृष्ण शर्माले बताए । उनले चार दिने प्रदर्शनी पूर्णरुपमा सफल भएको बताए ।

प्रदर्शनीमा लक्षित वर्गका कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समूह, कृषि सहकारी संस्था, शिक्षक तथा विद्यार्थीहरुलाई नेपालमा भित्रिएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा प्रदर्शनीको आयोजना गरिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष खोजराज कटुवालले जानकारी दिए । उनले आगामि दिनमा पनि प्रदर्शनीलाई निरन्तरता दिइने बताए ।

मंसिर ६ गतेदेखि भएको प्रदर्शनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघले आयोजना गरेका थिए । प्रदर्शनीमा चितवन उद्योग संघ सहयोगी संस्थाको रुपमा रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>