खेलकुद

चितवनमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल हुने

Banner

चितवन, भदौं ३०–

चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल कप-२०७६ हुने भएको छ ।

आउँदो असोज २ गतेदेखी भरतपुरस्थित गेष्टहाउस चौरमा प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक चितवन भेट्रान फुटबल क्लवले आज (सोमबार) पत्रकार सम्मेलन गरी जिल्लामा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

प्रतियोगितामा चितवनका दुई टिमसहित १६ टिमले सहभागिता जनाउन लागेको कार्यक्रम संयोजक बरुण बस्नेतले जानकारी दिए । सहभागिता जनाउने टिमहरुमा चितवन भेट्रान (निलो), मकवानपुर भेट्रान (हेटौंडा), अभिषेक चर्च (नवलपुर), रोलय भेट्रान दार्जिलिङ (भारत), बगरभाई खलक पोखरा, टि बरगर (ललितपुर), नाईट किङ (काठमाडौं), धरान भेट्रान क्लव (धरान), सानो गौचरन (काठमाडौं), रुपन्देही भेट्रान ११ (बुटवल), बीबीसी भेट्रान (बनेपा), झापा भेट्रान (झापा), चितवन भेट्रान (रातो, युथ एकेडेमी (वीरगंज), देरादुन एफसी (भारत) र कैलाली भेट्रान (कैलाली) रहेका छन् ।

प्रतियोगिताका विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ, उपविजेताले ५० हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट चार विधा (बेष्ट गोलकपिर, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्स, हाइ स्कोरर)का खेलाडीहरुलाई पाँच हजारको दरले पुरस्कृत गरिने भेट्रान चितवनका वीरेन्द्र पाण्डेले जानकारी दिए । यस्तै सर्वोत्कष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता असोज ६ गतेसम्म संचालन हुने छ । प्रत्येक टिमबाट ९ जना खेलाडी मैदानमा उत्रिने छन् भने खेल ६० मिनेटको हुनेछ । प्रतियोगितामा दिनको चार खेल हुनेछन् भने सेमिफाइनलका दिन दुई खेल र अर्को दिन फाइनल खेल हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा चितवन भेट्रान (निलो)ले मकवानपुर भेट्रान (हेटौंडा)संग प्रतिस्पर्धा गर्दैछ । यस्तै सो खेल विहान ७ः३० बजेदेखी सुरु हुनेछ । यस्तै सोही दिन दिउँसो २ बजे सानो गौचरन (काठमाडौं)विरुद्ध रुपन्देही भेट्रान ११ (बुटवल) प्रतिस्पर्धा गर्नेछ । त्यस्तै सोही दिन ३ बजे बीबीसी भेट्रान (बनेपा)विरुद्ध झापा भेट्रान (झापा) र दिउँसो ४ बजे अभिषेक चर्च (नवलपुर)विरुद्ध रोयल भेट्रान (दार्जिलिङ)बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई जस्मिन पेन्ट्सले मुख्य प्रायोजन गरेको छ भने सेन्ट्रल कलेज, हानामी इन्टरनेशनल एजुकेशन प्रा.लि.लगायतले सह–प्रायोजन गरेका छन् ।

यसैबीच पत्रकार सम्मेलनमा आयोजक क्लवका दुबै टिमलाई जर्सी प्रदान गरिएको छ । मुख्य प्रायोजक कम्पनि जस्मिन पेन्ट्सले दुबै टिमलाई प्रदान गरेको हो । पेन्ट्सका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले आयोजक चितवन भेट्रान फुबटल क्लवका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठलाई जर्सी हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै पेन्ट्सका प्रवन्ध निर्देशक अर्यालले नेपाललाई खेलकुदको माध्यमबाट नै विश्वमा चिनाउन सकिने भन्दै खेल क्षेत्रलाई सहयोग गर्दै आइरहेको बताए । उनले आगामि दिनमा पनि खेल क्षेत्रलाई अगाडि बढाउन यस्तै सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>