चितवन विशेष
चितवनका थारु समुदायमा ‘जितिया’को रौनक सुरु

चितवन, भदौं २७–
चितवनका थारु समुदायमा ‘जितिया’ पर्वको रौनकता सुरु भएको छ । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्व नजिकिएसंगै रौनकता सुरु भएको हो ।
‘जितिया’ पर्वको अवसरमा थारु महिला सभा चितवनले आज (शुक्रबार) भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिमा धनी थारु समुदायले आफ्नो संस्कृति जगर्ने गर्दै जानुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले थारु समुदायको पुरानो संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
आफू पनि थारु गाउँमै हुर्किएको भन्दै विस्तारै पुरानो संस्कृति हराउँदै जानु चिन्ताको विषय रहेको बताए । उनले थारु समुदायले मौलिक गीतलाई जगेर्ना गर्नुपर्ने बताउँदै यसतर्फ सबैको ध्यानाकर्षण गराए । उनले भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा संस्कृतिका धनी थारु समुदायले पुरानो संस्कृतिलाई उजागर गर्दै पर्यटकलाई लोभ्याउनुपर्ने बताए । उनले देशको तेस्रो पर्यटकीय क्षेत्र सौराहा भएकाले पनि यसको फाइदा उठाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै विशेष अतिथि पूर्वन्यायधिश नन्दलाल महतो, विष्णुकुमारी महतो, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, सप्तगण्डकी बहुमुख कलेजका क्याम्पस प्रमुख मणिराज महतो, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, थाकस क्षेत्र नं.८ का सभापति रामेश्वर चौधरी, इन्टरनेशनल बोर्डिङ स्कूल खैरहनीकी मञ्जु चौधरीलगायतले मन्तव्य व्यक्त गर्दै जितियाको शुभकामना व्यक्त गरे । उनीहरुले छोरीहरुलाई शिक्षामा प्राथमिकता दिनमा जोड समेत दिएका थिए ।
थारु महिला सभाकी उपाध्यक्ष चमेली महतोले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सभाकी अध्यक्ष धञ्जु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । थारु समुदायका महिला दिदीबहिनीहरुले आउँदो असोज ५ गते धुमधामका साथ ‘जितिया’ पर्व मनाउँदै छन् ।