राजनीति

गृहमन्त्रीले भनेः कांग्रेस कुट्नेलाई कारवाही हुन्छ

Banner

काठमाडौं,भदौं २७-

बाँकेको खजुरामा नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि कुटपिट गर्ने दोषीलाई कारवाही गरिने गृहमन्त्री रामबहादुर थापाले प्रतिवद्धता जनाएका छन् । साथै, यो घटनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या नगर्न गृहमन्त्रीले विपक्षीलाई आग्रह गरेका छन् ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए । घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ । यो घटनालाई लिएर कांग्रेसले विरोध प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्नेदेखि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेसम्मका कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ ।

यसैवीच, सिंहदरबारमा शुक्रबार आयोजित राज्य व्यवस्था सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराइन् । त्यसअघि नै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गर्दै घटनाबारे सरकार मौन बसेको आरोप लगाए ।

घटनाबारे स्पष्टीकरण दिँदै गृहमन्त्री थापाले दोषीलाई कारवाही गरिने आश्वासन दिए । उनले सो घटनामा संलग्न केहीलाई पक्राउसमेत गरिसकिएको र कावाहीसमेत भइसकेको संसदीय समितिमा जानकारी दिए ।

गृहमन्त्री थापाले भने, ‘यसबारेमा हाम्रो हिजो नै ध्यानाकर्षण भएको हो । विषय आइसकेको छ । यहाँहरुले जो दोषीमाथि कारबाही गर्ने माग गर्नुभयो, कारवाही पनि भइसकेको छ । तीनजना पक्राउ परिसकेका छन् र अरुलाई खोजी जारी छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>