पत्रपत्रीका बिशेष
फिरौती माग्ने गृहमन्त्रीका साइला भाई नरेश थापा पक्राउ

काठमाडौं, भदौं २६–
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन् । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।
पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो ।
प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौति संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।