चितवन विशेष

नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ, काम सुरु हुन अझै एक वर्ष लाग्ने

Banner

सुरज पौडेल

नवलपुर , भदौं २३-

नारायणगढ बुटवल सडकखण्ड गैंडाकोटबाट सुरु हुन अझै एक वर्ष लाग्ने भएको छ ।

राजमार्ग सडक विस्तारमा क्रममा मासिने वन क्षेत्र, खानेपानी सेवा र विद्युत् सेवामा अवरुद्ध हुने भएकोले यस्ता संस्थाको सहमति हुनुपर्ने भएकोले यिनले समयमै काम सुरु गर्ने निर्णय दिएको खण्डमा यही तिहारबाट काम सुरु हुनेछ । विभिन्न सरकारी कार्यालयहरुले समयमा काम सुरु गर्ने सहमति नदिएसम्म काम अगाडि नबढ्ने संकेत देखिएको हो । अहिले कागजपत्र मिलाउने काम चलिरहेको छ । पहिलो चरणमा गैँडाकोटको वन क्षेत्र थुम्सीबाट काम धममाधम सुरु हुनेछ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति सुरु गरिएको थियो । प्रधानमन्त्री केपीशर्मा ओलीले बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका थिए । सन् १९७२ मा बनेको ११३ किलोमिटर दूरीको यो सडक हाल दुई लेन मात्र छ । सडक साढे तीन वर्षमा चार लेनमा विस्तार भइसक्नेछ । यो सडकको स्तरोन्नतिका लागि चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सरकारले सम्झौता गरिसकेको छ ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम हुनेछ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तार हुन थालेको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैंडाकोट–९ दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै लगानी हुनेछ ।

एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । पहिलो चरणको विस्तारको काम २०८० साउन २२ मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको बुटवल–नारायणगढ सडक सुधार आयोजना कार्यालयका प्रमुख सुरेश न्यौपानेले बताए । साढे तीन वर्षमा सडक निर्माणको काम सके पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको छ । अहिले बाटो सर्भेको काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>