चितवन विशेष
भरतपुरका व्यवसायीद्वारा विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण

चितवन, भदौं २१-
भरतपुरका युवा व्यवसायी उपेन्द्र पण्डितले गोर्खाको गोरखकाली आधारभूत विद्यालयका विद्यार्थीलाई लत्ताकपडा र स्टेशनरी प्रदान गरेको छ ।
पण्डितका अनुसार सो विद्यालयका १५ जना विद्यार्थीलाई स्कुल ड्रेसको स्विटर र ६ हजारको स्टेशनरी वितरण गरेका हुन् । त्यसैगरी गत वर्षबाट पढाई खर्च बेहोर्दै आएका तीन विद्यार्थीलाई वर्ष दिन भरीका लागि विद्यालय पोशाक र दसैँका लागि एक–एक सेट कपडा पनि उनले खरिद गरिदिएका छन् । पण्डितले तीन जना विद्यार्थीलाई गोर्खा बजार ल्याएर १२ हजार ६३३ बराबरको कपडा खरिद गरी ट्याक्सी चढाएर पठाएको जानकारी दिए ।
ती बालबालिकालाई उच्च शिक्षासम्म पढाउने उनले बताए । तीनै जना बालबालिका दलित समुदायका हुन् । एक जनाको बाबुु र आमा सम्पर्कमा नरहेको उनले बताए । यी विद्यार्थीहरु दुई जना कक्षा ६ मा र एक जना कक्षा तीनमा अध्ययन गर्दै आएका छन् । गोर्खा नगरपालिका वडा नम्बर पाँचमा रहेको सो विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययन गर्दै आएका छन् ।