चितवन विशेष
विद्यार्थी पक्राउको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन, रिहा नगरे आन्दोलन चर्काउने चेतावनी

चितवन,भदौं १७-
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा ¥यालीसहित प्रर्दशन गरेका छन् । प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् ।
चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए । उनीहरुले विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरे । चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको एक विद्यार्थीले बताए । उनीहरुले पक्राउ गरिएका विद्यार्थी नछाडे आन्दोलनलाई चर्काउँदै लैजाने चेतावनी दिएका छन् ।
चितवन मेडिकल कलेजले शुल्क तोकिएको भन्दा बढि लिएको भन्दै आन्दोलन गर्दै आएका छन् । शिक्षा मन्त्रालयले समेत शुल्कका बारेमा छलफल गर्न बोलाएको सन्र्दभमा विद्यार्थी नेता पक्राउ गरिनु आपत्तिजनक भएको विप्लबका छोरा समेत रहेका विद्यार्थी नेता प्रकाश चन्दले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछका लागि प्रविनलाई पक्राउ गरिएको जानकारी दिए । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले कलेजमा अध्ययनरत विद्यार्थी पक्राउ परेको तर यसबारे आफूलाई धेरै कुरा थाहा नभएको प्रतिकृया दिए । उनले पक्राउ परेका विद्यार्थी विप्लब नेतृत्वको नेकपाको सेक्रेटरी रहेका कारण प्रक्राउ गरेको प्रहरीले प्रतिकृया दिएको बताए ।