चितवन विशेष
सप्तगण्डकी क्याम्पसमा तीजको रौनक

चितवन, भदौं ११-
समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन सप्तगण्डकी क्याम्पस एकाइले आज तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ ।
समाजवादी विद्यार्थी युनियन सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले एक दर्जन गीत, नृत्य र कयारिकेचर प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजवादी महिला संघकी केन्द्रीय उपाध्यक्ष किरण शाहले सबैलाई तीजको शुभकामना दिँदै देशको विकासको लागि समाजवादी सोच र चिन्तन आवश्यक रहेको बताइन् । समाजमा रहेको विभेदको अन्त्य र समृद्ध समाजको स्थापना नै वास्तवमा समाजवाद भएको उनले बताइन् । त्यस्तै सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतोले समाजवादी पार्टीका केन्द्रीय नेताहरु हाम्रो क्याम्पसमा आउनु गौरवको विषय भएको भन्दै क्याम्पसको संक्षिप्त परिचय प्रस्तुत गरे ।
कार्यक्रममा पूर्वसंघीय समाजवादी पार्टीका चितवन जिल्ला अध्यक्ष प्रेम भुजेल, पूर्वनयाँ शक्ति पार्टी चितवनका जिल्ला संयोजक पदम गुरुङ, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य विनोद शर्मा, समाजवादी महिला संघकी केन्द्रीय सचिव लक्ष्मी चौधरी, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष अनुज जोशी, नेविसंघ सप्तगण्डकी बहुमुखी क्याम्पसका अध्यक्ष राजेश भुसाललगायतले तीजको शुभकामना व्यक्त गरेका थिए । समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य माधव न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्याम्पसका कर्मचारी तथा प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।