चितवन विशेष

चितवन हिरासतमा रविका ११ दिन : कलाकारदेखि नेतासम्मको भेट

Banner

मधुसूदन दवाडी-

सञ्चारकर्मी रवि लामिछाने सोमबारबाट चितवन प्रहरीको हिरासत मुक्त भएका छन् । उनलाई चितवन अदालतले पाँच लाख धरौंटीमा रिहा गरेपछि खुसीयालीमा उनका समर्थकहरुले भरतपुरको सडकमा प्रदर्शन गरे ।

माउन्टेन्ट टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछाने साउन ३० गते पक्राउ परेका थिए । उनले चितवन प्रहरी हिरासतमा ११ दिन बिताए । प्रहरीले युवराज कँडेललाई पनि उनीसँगै नियन्त्रणमा लियो र चितवन प्रहरीको हिरासतमा राखेर छानबिन थालेको थियो ।

पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि सोही विषयलाई आधार बनाएर प्रहरीले अनुसन्धान थालेको थियो । तीन जना शालिकराम प्रकरणमा पक्राउ गरे पनि सबैभन्दा धेरै चर्चा भने रवि लामिछानेले नै पाए । लामोसमयसम्म विभिन्न मिडियामा प्रत्यक्ष दर्शक सहभागिता बढाउने गरी कार्यक्रम चलाएका कारणले पनि रवि लामिछानेप्रतिको चासो र चर्चा सबैतिर व्याप्त भयो । धेरै वर्षसम्म नेपाल टेलिभिजनमा चलचित्रसँग सम्बन्धित कार्यक्रम चलाएका उनी केही वर्ष अमेरिका भासिएका थिए । अमेरिकाबाट आउनासाथ उनले ६० घण्टासम्म न्यूज २४ बाट अन्तरवार्ता चलाएर गिनिज बुकमा नाम नै लेखे । त्यसपछि उनले न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रममा जोडिएका थिए ।

देश तथा विदेशमा रहेका नेपालीहरुलाई परेको समस्याहरु कार्यक्रममा उठाउन थालेपछि उनको लोकप्रियता ह्वात्तै बढ्यो । उनको पक्राउसँगै रविका बारेमा विभिन्न नकारात्मक समाचारहरु पनि चर्चामा आए । रविकै बारेमा सामाजिक सञ्जाल र यूट्युबहरु भरिए । उनको समर्थन र विरोधमा आवाजहरु उठ्न थाले । युट्युब च्यानल र अनलाइनहरुको लागि उनीहरुको क्रियाकलाप राम्रो मसला बन्यो । एउटा नागरिकको समर्थनमा यति ठूलो मानिसहरुको प्रदर्शन सायद नेपालमा पहिलो नै थियो । यसका पछाडि देशका राजनीतिक दलहरुप्रति बढ्दो निराशा र सरकारी संयन्त्रहरुमाथि अविश्वास नै प्रमुख कारण थिए । अर्काेतर्फ भ्रष्टाचार र बदमासीको बारेमा उनले निडर र निर्भिकरुपमा टेलिभिजनमा राखेका विचारको धेरै मानिसहरु प्रशंसक बनेको पनि देखियो । देश छाडेर विदेश भासिन बाध्य बनेकाहरुलाई उनको बारेमा बढी नै चासो र समर्थन देखियो ।

लामिछाने ११ औं दिनसम्म चितवन प्रहरीको हिरासतमा रहँदा उनलाई भेट्नेहरुको लस्कर नै लाग्यो । चितवनमा सञ्चारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन हुन थालेपछि यो विषयले सडकदेखि सदनसम्म चर्चा पायो । हरेक पेसा र व्यवसायका मानिसहरु काठमाडौँदेखि उनलाई भेट्न चितवन आएका थिए । उनको समर्थनमा भएको प्रदर्शनमा पनि कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रहरी हिरासतमा रहेर पहिलो पटक अदालतबाट पहिलो पटक म्याद थप भएपछि चितवनका मानव अधिकारवादी चितवन पत्रकार महासंघको तर्फबाट प्रतिनिधिहरु गएर सञ्चारकर्मी लामिछानेलाई भेट गरे । मानवअधिकारकर्मीहरुको भेटको मुख्य आसय रविलाई प्रहरी हिरासतमा कसरी राखिएको छ भन्ने नै थियो । रविको बारेमा पत्रकार महासंघ खासै नबोले पनि पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टको हस्ताक्षरमा घटनाको स्वतन्त्र छानबिनको माग गर्दै काठमाडौँबाट विज्ञप्ति जारी भयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता तथा छाया गृहमन्त्री दिलेन्द्रप्रसाद बडु, नुवाकोटका कांग्रेस नेता जगदिश्वरनरसिंह केसी, कांग्रेस नेतृ डिला संग्रौलालगायतले भेट गरे । भेट गर्नेहरुमा चितवनमा स्थानीय नेताहरुको पनि ठूलै संख्या थियो ।  दोस्रो पटक उनीहरुको म्याद थपेपछि केही जनप्रदर्शन केही खुकुलो भए पनि अदालतमा प्रहरीले मुद्दा दायर गरेपछि चितवन र काठमाडौँमा रविको समर्थन हुने प्रदर्शनहरु बढ्न थाल्यो । निकै ठूलो भीड रविको समर्थनमा देखिएपछि नागरिक भेडा हुन् भनेर पनि कयौंले टिकाटिप्पणीहरु गरे ।

प्रहरी हिरासतमा असुरक्षित भएको महसुस गरेको भन्ने प्रतिक्रिया दिएपछि उनलाई भेट्न प्रहरी प्रमुख सर्वेन्द्र खनाल पनि हिरासत पुगेका थिए । उनको भेटसँगै रवि रिहा हुन्छन् कि भन्ने कतिपयको अनुमान थियो । सडकमा नेकपाका नेताहरुको विरुद्ध र राजाको समर्थनमा नारा लाग्न थालेपछि नेकपा चितवनले प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्ताहरुलाई उर्दी जारी नै गरेका थिए । नेकपाका नेता भने उनलाई भेट्न हिरासतमा पुगेनन् ।

नागरिकको प्रदर्शनमा कयौ राष्ट्रियरुपमा ख्याती कमाएका कलाकारहरुले पनि साथ दिए । उनी हिरासतमा रहँदा कलाकारहरु हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रमोद खरेल, दिपकराज गिरी, स्वेता खड्का, दिपाश्री निरौलालगायत थिए । उनीहरुले खुलेर नै रविको पक्षमा उभिए र उनका समर्थकहरुलाई झनै उत्साह दिए ।

रविको समर्थनमा बोल्दै कलाकार हरिबंश आचार्यले आत्महत्या दुरुत्साहनसम्बन्धी कानुनमा नै परिवर्तन ल्याउनुपर्ने विचार राखे । कलाकारहरुको चितवन आगमनसँगै समर्थकहरुको भीड पनि ह्वात्तै बढ्न गएको हो । मिडियाको प्रयोग गरी निर्माण गरेको जनसमर्थन र विश्वास नै रकिो समर्थनमा भएको प्रदर्शनको सार थियो । यसरी शालिकराम आत्महत्या प्रकरणले नेपालको राजनीतिक दलहरु र आमनागरिकलाई एउटा महत्वपूर्ण शिक्षा दिएको छ । नागरिकको मन जित्न सकेमा कुनै एक नागरिकको लागि पनि मानिसहरु ज्यान फाल्न तयार हुँदा रहेछन् । देशमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध आमनागरिकको व्यापक वितृष्णा रहेको छ जसलाई समयमा नै सम्बोधन गर्न नसकेमा त्यसले बिकराल रुप लिने खतरा रहन्छ । नागरिमा फैलिएको गम्भीर निराशा र अविश्वासलाई राज्य संयन्त्रले सम्बोधन गर्न नसके भोलि देशको शासन व्यवस्था जता पनि पल्टन सक्ने सम्भावना देखिन्छ । नागरिक सधै विकल्पको खोजीमा रुमल्एिको देखिन्छ । बेरोजगारी, अशिक्षा, भष्ट्राचार, कमिसन गरिबीको पीडा प्रतिबिम्व नै रविको नाममा भएको सडक प्रदर्शन हो । यसबाट भविष्यमा रवि लामिछाने पनि अझै गम्भीर र सचेत भएर आफ्ना प्रस्तुतिहरु सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>